काठमाण्डु चैत्र २१
दुबईमा रहेको नेपाली राजदुतावासले अबुधाबीको अब्जान क्षेत्रमा भएको घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ।
राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, गत ०३ अप्रिल २०२६ मा अबुधाबीको अब्जान क्षेत्रमा भएको घटनामा घाइते भएका नेपालीमध्ये बाँकी १ जना गम्भीर घाइतेको भने अस्पतालमा उपचार भइरहेको छ। यद्यपि, उनको अवस्था पनि खतरामुक्त रहेको र चाँडै अस्पतालबाट डिस्चार्ज हुन सक्ने जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
विज्ञप्तिमा दूतावासले घाइते सबै नेपालीसँग टेलिफोनमार्फत सम्पर्कमा रहेको तथा ४ जनासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेको छ। साथै, आवश्यक सहयोग, समन्वय र उपचार व्यवस्थापनका लागि दूतावासले निरन्तर काम गरिरहेको पनि बताइएको छ।
दूतावासका अनुसार, घाइते नेपालीहरूको आवश्यक स्वास्थ्य उपचार यूएई सरकारको समन्वयमा भइरहेको छ। घटनापछि नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित पक्षसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।
मध्यपूर्वमा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै, दूतावासले दुबईमामा रहेका नेपाली नागरिकलाई यूएई सरकारले जारी गरेका सुरक्षा निर्देशिका र सूचनाहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
साथै, दूतावासले आधिकारिक स्रोतबाट प्रकाशित सूचनामात्र विश्वास गर्न र त्यसअनुसार सचेत रहन पनि सबै नेपालीलाई अनुरोध गरेको छ।
