काठमाडौं, वैशाख ३
नेकपा (एमाले) का प्रभाबशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले केही नेताहरूले नेतृत्वमाथि संकट आएको भन्दै फेरि ‘वाम एकता’ को बहस अघि बढाइरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले स्पष्ट वैचारिक आधार र सिद्धान्तबिनाको एकताले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पाण्डेले विगतमा पद प्राप्तिका लागि एकता गरिएको र अहिले कतिपयले आफ्नो गुम्दो अस्तित्व जोगाउनका लागि फेरि त्यही प्रयास गरिरहेको संकेत गरेका छन्। उनले पार्टी एकता सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि नभई स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन राजनीतिक उद्देश्यका लागि हुनुपर्ने बताएका छन्।
पाण्डेले नेकपा (एमाले) आफैंमा बलियो ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालसम्म पार्टीलाई कसरी सशक्त, संगठित र एकताबद्ध राख्ने भन्नेमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। विचार र निश्चित गन्तव्यविनाको एकताले पार्टीको मूल्य–मान्यता कमजोर पार्ने उनको भनाइ छ।
उनले अहिलेको आवश्यकता पार्टी पुनर्निर्माण भएको बताउँदै क्षमतावान, दक्ष तथा विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनुपर्नेमा जोड दिएका छन्। यस्तो नगरे पार्टी क्रमशः साँघुरिँदै जाने उनको चेतावनी छ।
विगतमा वैचारिक आधारबिनाको एकताको तीतो परिणाम भोगिसकिएको स्मरण गराउँदै पाण्डेले “हिजो मौन बस्नु गल्ती थियो, आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ” भन्ने धारणा राखेका छन्।
साथै उनले एमाले अब सत्ता र स्वार्थको जोडघटाउमा नभई विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
