काठमाण्डु चैत्र २४
चर्चित जेनजी अभियानता तथा युवा कानुन व्यवसायी जस्मिन ओझाले प्रधानमन्त्रीसहित मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै सरकारमाथि कडा प्रश्न उठाएकी छन्।
ओझाले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलन केवल पुराना दल विस्थापन र नयाँ पार्टी स्थापनाका लागि नभई सुशासन, पारदर्शिता र नागरिक जवाफदेहिताको आन्दोलन भएको स्मरण गराएकी छन्।
उनले रास्वपाको वाचापत्रमै सार्वजनिक पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता भए पनि सरकार बनेको यतिका समयसम्म त्यो कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
बालेन सरकार माथि यस बिषयमा प्रश्न गर्ने जस्मिन पहिलो नागरिक हुन् ।
ओझाले “जो नेतृत्व अरूलाई प्रश्न गरेर आएको हो, उसले आफू पनि त्यही मापदण्डमा खरो उत्रिनुपर्छ” भन्दै अहिलेको सरकार “नागरिक अडिटमा रहेको” चेतावनी दिएकी छन्।
उनले प्रश्नबाट भाग्ने र सुशासनलाई नारामै सीमित गर्ने प्रवृत्ति नयाँ शक्तिकै लागि महँगो पर्न सक्ने बताउँदै “हामी भदौ क्रान्तिदेखि नै सडकमै छौं, शहीदको रगतमा टेकेर सत्तामा पुगेकामाथि खबरदारी जारी रहन्छ” भनेकी छन्।
ओझाले अन्त्यमा आफूहरू सरकार असफल होस् भन्ने होइन, परिवर्तन संस्थागत होस् र देशले विकास देखोस् भन्ने चाहना राखेको स्पष्ट पारेकी छन्।
