काठमाडौं जेठ २८

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाबिर पुन ले मन्त्रालय सञ्चालनको पहिलो दिनमै ऐन निर्माणदेखि प्रशासनिक संरचना तयार पार्नेसम्मका महत्वपूर्ण निर्णयहरू गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो दिनको गतिविधिबारे जानकारी दिँदै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय शून्य अवस्थाबाट सुरु गर्नुपर्ने भएकाले आधारभूत कानुनी र संस्थागत संरचना निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।
उनका अनुसार सर्वप्रथम विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी, दरबन्दी तथा कार्यप्रणाली निर्धारण गर्न ओ एन्ड एम (Organization and Management) सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधिलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गरिने बताएका छन्।
“विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ,” मन्त्री पुनले लेखेका छन्, “मन्त्रालयलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक तयारी सुरु गरिएको छ।”
मन्त्री पुनको यो भनाइसँगै नवगठित मन्त्रालयले आगामी दिनमा अनुसन्धान, विज्ञान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको मुख्य आधार बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।