काठमाडौं जेठ २८
वरिष्ठ माओवादी नेता हरिबोल गजुरेलले नेपालका प्रमुख राजनीतिक दलहरू र तिनका नेतृत्वमाथि कडा टिप्पणी गर्दै महान् नेताहरूको नाम र आदर्शको राजनीतिक उपयोग भए पनि व्यवहारमा भने त्यसको विपरीत प्रवृत्ति हावी भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गजुरेलले पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको कार्यशैली, आचरण र जीवनशैलीबारे नेताहरूले घण्टौं भाषण गर्ने, लेख लेख्ने र प्रवचन दिने गरे पनि व्यवहारमा उनीहरूकै आदर्श, विधि–पद्धति र सादगीपूर्ण जीवनशैली परित्याग गरेको आरोप लगाएका छन्।
उनले राजनीतिक नेतृत्वमा बढ्दो विकृति, विलासी जीवनशैली र सिद्धान्तहीन आचरणका कारण देशले अपेक्षित रूपान्तरण हासिल गर्न नसकेको दाबी गरेका छन्। गजुरेलका अनुसार यही कारणले जनतामा गहिरो निराशा, आक्रोश र राजनीतिक नेतृत्वप्रति अविश्वास पैदा भएको हो। उनले हाल देखिएको नयाँ राजनीतिक शक्तिहरूको उदय र आन्दोलनहरूको पृष्ठभूमिमा पनि यही असन्तुष्टि रहेको संकेत गरेका छन्।
गजुरेलले राष्ट्रिय प्रकृतिका आन्दोलनहरूमा विदेशी शक्ति तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले प्रभाव जमाउने प्रयास गर्नु अस्वाभाविक नभएको उल्लेख गर्दै त्यस्ता प्रभावलाई देश र जनताको हितअनुकूल दिशा दिनु जिम्मेवार राजनीतिक शक्तिहरूको दायित्व भएको बताएका छन्।
उनले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकको नेतृत्वलाई गम्भीर आत्मसमीक्षाको अवसर दिएको भए पनि प्रमुख राजनीतिक नेतृत्वमा आवश्यक चेतना र आत्ममूल्याङ्कन देखिन नसकेको टिप्पणी गरेका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।