काठमाण्डु चैत २०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्रले हालै एक अनलाइनमा लेख मार्फत सार्वजनिक  गरेको विचारप्रति कटाक्ष गरेका छन् । मिश्रले ‘राप्रपा: नव-परिकल्पना, नव-परिचय, नव-प्रस्तुति’ शीर्षकमा लेखेको आलेखप्रति प्रतिक्रिया दिँदै श्रेष्ठले त्यसमा उठाइएका कतिपय विषय पठनीय, मननीय र बहसयोग्य भए पनि केही पक्ष भने एकतर्फी, पक्षपाती र अपूर्ण रहेको बताएका हुन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणा अनुसार, मिश्रको लेखमा पार्टी र नेतृत्वले भोगिरहेका पीडा, बाध्यता र अप्ठ्यारा पक्षहरूलाई जानाजान नजरअन्दाज गरिएको जस्तो आफूलाई महसुस भएको बताएका छन्।
उनले लेखेका छन्, “राप्रपा नेता रवीन्द्र मिश्रले ‘राप्रपा: नव-परिकल्पना, नव-परिचय, नव-प्रस्तुति’ शीर्षकमा नेपाल प्रेसमा लेख्नुभएको लेखका अधिकांश विषय पठनीय, मननीय र बहसयोग्य हुँदाहुँदै पनि कतिपय विषय एकतर्फी, कतिपय विषयमा पक्षधरता र कतिपय विषयलाई जानाजान नजरअन्दाज गर्नुभएकोमा खल्लो र अपूर्ण महसुस गरेको छु।”
मोहन श्रेष्ठले पार्टीको संस्थागत जिम्मेवारीमा रहेका नेताले यस्ता विषयहरू पार्टीभित्रै छलफलमा ल्याउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्। उनका अनुसार, राप्रपा जस्तो प्रजातान्त्रिक पार्टीमा स्वस्थ बहस निषेध नभएको, नभएको र नहुने स्पष्ट छ।
उनले भनेका छन्, “पार्टीको पदीय जिम्मेवारीमै रहेर उहाँले यी विषयहरूमा छलफल चलाउनुपर्थ्यो। राप्रपा जस्तो प्रजातान्त्रिक पार्टीमा स्वस्थ बहस निषेध थिएन, छैन र हुने छैन।”
यद्यपि, श्रेष्ठले मिश्रको सबै विचारप्रति असहमति जनाएका छैनन्। उनले नेपाली राजनीतिमा बलियो मध्य-दक्षिणपन्थी धारको आवश्यकता र त्यसको प्रतिनिधि शक्तिका रूपमा राप्रपाको उपादेयता सम्बन्धी मिश्रको विश्लेषणप्रति भने आफू सहमत रहेको उल्लेख गरेका छन्।
उनले मिश्रप्रति कटाक्ष गर्दै लेखेका छन् , म तपाईंलाई फूल जतिकै मन पराउँछु।