काठमाण्डु चैत्र २०,
हाल अमेरिका बस्ने स्थाइ घर बिराटनगर भएकी (उनको सामाजिक संजाल अनुसार ( संगम बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दोस्रो लामो स्टाटस पछि कलाकार सागर लम्साल ‘बले’माथि लागेको बलात्कार आरोपको प्रकरण थप चर्किएको छ। पहिलो पोस्टमार्फत आफू अमेरिकामा रहँदा दाइमानेको व्यक्तिबाट यौन हिंसाको शिकार बनेको दाबी गरेकी बिष्टले दोस्रो पोस्टमा आफ्नो परिचय खुलाउँदै अब यो लडाइँ व्यक्तिगत मात्र नभई सबै दिदीबहिनीको आवाज बनेको बताएकी छन्।
पहिलो पोस्टमा बिष्टले करिब एक वर्षअघिको घटना उल्लेख गर्दै आफू अमेरिका पुगेको केही समयमै मानसिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेको, डिप्रेसन र एन्जाइटीसँग लामो समयदेखि जुधिरहेको र अस्पतालसमेत भर्ना हुनुपरेको बताएकी थिइन्। त्यही कठिन समयमा परिवारसँग नजिकको सम्बन्ध भएका, आफूले दाइमानेका सागर लम्सालसँग भेट भएको र आफ्नै अपार्टमेन्टमा लगेर स्वास्थ्य तथा मानसिक संघर्षका कुरा सुनाइरहेका बेला आफू बलात्कारको शिकार बनेको उनको आरोप थियो। उनले “ममाथि बलात्कार भयो” भन्दै उक्त घटनापछि आफूभित्र बाँकी रहेको आशा, शक्ति र आत्मविश्वास सबै हराएको, परिवारलाई भन्न नसकेको, र लामो समयसम्म चुपचाप पीडा बोकेर बाँच्नुपरेको लेखेकी थिइन्।
पहिलो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भयो। त्यसपछि बिष्टले अर्को लामो स्टाटस सार्वजनिक गर्दै आफ्नो परिचय आफैं दिएकि छिन् । उनले आफू संगम बिष्ट भएको, २ वर्षको उमेरदेखि नृत्यमा र ५ वर्षको उमेरदेखि फिल्म क्षेत्रमा लागेको कलाकार भएको, बाल्यकालदेखि सेटमै हुर्किएको, तथा १३ वर्षको उमेरमै राष्ट्रपति रामवरण यादवबाट ‘नेशनल अवार्ड’ प्राप्त गरेको उल्लेख गरेकी छन्। साथै, आफ्नो परिवार फिल्म र कला क्षेत्रसँग गहिरो रूपमा जोडिएको बताउँदै उनले आफूलाई “एक युवती” भनेर मात्र कमजोर पार्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरेकी छन्।
दोस्रो पोस्टमा बिष्टले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको भिक्टिम ब्लेमिङ, चरित्र हत्या र निन्दा अभियानप्रति तीव्र आक्रोश व्यक्त गरेकी छन्। उनले आफ्नो कथालाई “पैसाका लागि”, “कसैको जिन्दगी बिगार्न”, “ब्रेकअपपछि”, वा “इन्डस्ट्रीमा छिर्न” को लागि बनाइएको भनेर गरिएको टिप्पणीलाई घृणित मानसिकता भन्दै खण्डन गरेकी छन्। उनले “मेरो कथा अब मेरो मात्र रहेन” भन्दै आफूले उठाएको आवाज धेरै पीडित महिलाहरूको दबिएको आवाजसमेत बनेको दाबी गरेकी छन्। उनले यो लडाइँ अब “मेरो लागि मात्र होइन, सबैका लागि जित्नुपर्ने लडाइँ” भएको बताएकी छन्।
बिष्टको दोस्रो पोस्टको सबैभन्दा कडा अंशमा उनले “कथक डान्स गर्ने म, अब ताण्डव गर्छु” भन्दै आफू अब चुप लागेर नबस्ने संकेत दिएकी छन्। “न्याय पाए ठीक छ, नत्र यो पटक दुर्गा पूजा छिट्टै मनाइनेछ” जस्ता वाक्यांश प्रयोग गर्दै उनले आफूलाई कमजोर नठान्न चेतावनी दिएकी छन्। पोस्टको अन्त्यमा उनले “माँ दुर्गाले सबैको रक्षा गरून्, जय नारी” लेखेकी छन्। यो पोस्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समर्थक र आलोचक दुवै प्रतिक्रियाहरू तीव्र भएका छन्।
यहीबीच, आरोप सार्वजनिक भएसँगै सागर लम्साललाई निर्माणाधीन नेपाली चलचित्र पाँच पाण्डवबाट हटाइएको छ। निर्माण पक्षले नैतिक आधारमा उनलाई फिल्मबाट निष्कासन गरिएको र उनी संलग्न दृश्यहरू अन्तिम संस्करणमा नराखिने जनाएको छ। निर्माण कम्पनीले आवश्यक परे रि–सुट गरेर अर्को कलाकारमार्फत उनको भूमिकालाई प्रतिस्थापन गर्ने निर्णय लिएको समाचार सार्वजनिक भएको छ। केही सञ्चारमाध्यमका अनुसार लम्सालका करिब ९० प्रतिशत दृश्य छायांकन भइसकेको अवस्थामा पनि निर्माण पक्षले उनलाई हटाउने निर्णय लिएको हो।निर्माण पक्षले आज एक बिज्ञप्ति जारी गरेर बलेलाई निष्कासन गरेको हो।
