काठमाण्डु चैत्र  २८

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टीको संस्थागत निर्णयबिना उपसभामुख पदको उम्मेदवारी अघि बढाइएको विषयमा गम्भीर असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। राणाले पार्टीका नेता, कार्यकर्ता तथा राष्ट्रवादी समर्थकहरूबाट निरन्तर फोन सम्पर्क भइरहेको उल्लेख गरेका छन्।


उनले राप्रपा अहिले गणतन्त्र विरोधी आन्दोलनमा रहेको स्मरण गराउँदै गणतान्त्रिक संविधानको संरक्षण, कार्यान्वयन र पालना गर्ने जिम्मेवारी भएका पदमा पार्टी सहभागी हुनु नहुने स्पष्ट पारे।
“हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन,” उनले लेखेका छन्।
राणाले पार्टीभित्र प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिने कुनै पनि निर्णयप्रति आफ्नो असहमति रहेको पनि स्पष्ट पारेका छन्।
“पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन,” उनले उल्लेख गरेका छन्।
हिजो भएको उपसभामुख निर्वाचनमा राप्रपाले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको थियो।लामा राप्रपा नेता बुद्धिमान तामाङ पत्नी हुन् ।