भारतीय न्युज च्यानल आजतकका अनुसार अमेरिका र इरानबीच शान्ति वार्ताबाट देखिएको आशामा ठूलो धक्का लागेको छ। इस्लामाबादमा २१ घण्टासम्म चलेको म्याराथन बैठकपछि इरानको धारणा पूर्ण रूपमा बदलिएको छ। इरानले स्पष्ट पारेको छ कि अहिलेका लागि अमेरिकासँग अर्को चरणको वार्तामा जाने कुनै योजना छैन।
इरानी सरकारी समाचार एजेन्सी फार्स ले पाकिस्तानमा रहेको इरानी वार्ता टोलीनिकट स्रोतलाई उद्धृत गर्दै अमेरिका वार्ताप्रति गम्भीर नभएको दाबी गरेको छ। इरानी पक्षका अनुसार अमेरिका केवल अन्तर्राष्ट्रिय समुदायसामु आफ्नो कमजोर छवि जोगाउन वार्तामा बसेको थियो।
इरानको आरोप छ कि युद्धमैदानमा असफलता र अवरोध बेहोरेपछि पनि अमेरिका आफ्नो अडानबाट पछि हट्न तयार भएन। बरु उसले वार्तामा यस्ता सर्तहरू अघि सार्‍यो, जसलाई स्वीकार गर्न सम्भव नै थिएन, ताकि वार्ता विफल भएको दोष इरानमाथि थोपर्न सकियोस्।
२१ घण्टाको लामो छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स अमेरिका फर्किसकेका छन्, तर उनी कुनै सहमति बिना फर्किएको बताइएको छ। अमेरिकाले यो वार्तापछि आफूलाई कूटनीतिक सफलता मिल्ने अपेक्षा गरेको भए पनि त्यसो हुन सकेन।
वार्ताको सबैभन्दा संवेदनशील विषय स्ट्रेट अफ होर्मुज थियो, जुन हाल बन्द अवस्थामा रहेको बताइएको छ। अमेरिका उक्त समुद्री मार्ग खुलाउन दबाब दिइरहेको थियो, तर इरानले यो मार्ग आफ्नो सहमतिबिना नखुल्ने स्पष्ट पारेको छ।
इरानी मिडियाले दाबी गरेको छ , अमेरिका वास्तवमा वार्ताबाट बाहिरिने बहाना खोजिरहेको थियो। जेडी भान्सको टोली फर्किएपछि पनि होर्मुज मार्ग बन्द नै रहेको र क्षेत्रीय तनाव झन् बढेको जनाइएको छ।