काठमाडौं बैशाख ५
नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता सुदृढ गर्ने अवसर सिर्जना गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।
उनका अनुसार अब पार्टीका सदस्य तथा शुभेच्छुकहरूले जहाँ रहे पनि आ–आफ्नो स्थानबाट थप जिम्मेवारीका साथ एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्नुपर्ने समय आएको छ। सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो भएको स्पष्ट गर्दै उनले सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले आगामी १४औँ महाधिवेशनलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। अघिल्ला पुस्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
