काठमाडौं जेठ १७ पूर्व अर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले हालको बजेटले तल्लो तथा मध्यम वर्गमाथि अतिरिक्त आर्थिक भार थोपरेको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।
उनले स्वास्थ्य र शिक्षामा लगाइएको कर (३ प्रतिशत) तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा लाग्ने भ्याटले आधारभूत वर्गप्रति सरकारको दृष्टिकोण प्रष्ट भएको टिप्पणी गरेका छन्।
आइतबार सामाजिक संजालमा आफ्नो धारणा लेख्दै शर्माले महँगीको चापमा परिरहेका आम नागरिकमाथि थप कर लगाइनु अन्यायपूर्ण भएको भन्दै तत्काल यी कर तथा शुल्क फिर्ता लिन सरकारसँग माग गरेका छन्।

उनका अनुसार, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा कर लगाइनु सामाजिक न्याय र समावेशी अर्थनीतिका विपरीत हो। साथै, विद्युत् खपतमा कर वृद्धिले न्यून आय भएका परिवारहरू प्रत्यक्ष प्रभावित हुने दाबी पनि उनले गरेका छन्।
उनले सरकारले कर नीतिलाई पुनरावलोकन गरी जनमुखी र न्यायसंगत आर्थिक नीति अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।