ललितपुर जेठ १३

किशोर श्रेष्ठ ले पत्रकार युवराज घिमिरे माथि कडा सार्वजनिक आक्रोश व्यक्त गरेका छन्। दुई दशकअघिको चर्चित “श्रीषा कार्की प्रकरण” पुनः उधिनिएको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत युवराज घिमिरेको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।
किशोर श्रेष्ठले तत्कालीन समयमा राजसंस्थाले प्रत्यक्ष शासनसत्ता हातमा लिएको कठिन राजनीतिक परिवेशमा जनआस्थाले जोखिम मोलेर समाचार सम्प्रेषण गरेको स्मरण गर्दै, श्रीषा कार्की प्रकरणमा जनआस्थालाई एकतर्फी रूपमा दोषारोपण गरिएको आरोप लगाए। उनले उक्त घटनासँग सम्बन्धित समाचार, कलाकार संघको उजुरी, दरबारसम्म पुगेको दबाब र प्रहरी अधिकारीको स्वीकारोक्तिसमेत उल्लेख गर्दै त्यसबेला प्रकाशित सामग्रीको जिम्मेवारी र सन्दर्भ सम्झन आग्रह गरेका छन्।
श्रेष्ठले विशेषगरी कान्तिपुर दैनिकमा युवराज घिमिरे नेतृत्वमा प्रकाशित “फलोअप स्टोरी” हरूलाई एकपक्षीय भएको आरोप लगाएका छन्। उनले आफूहरूको भनाइ रेकर्ड गरिए पनि प्रकाशित नगरिएको, त्यसले जनआस्थाविरुद्ध हिंसात्मक वातावरण निर्माण गरेको तथा सार्वजनिक अपराधको मुद्दालाई अझ गम्भीर बनाउने वातावरण सिर्जना गरेको दाबी गरेका छन्।
उनले श्रीषा कार्कीको फोटो खिच्ने कार्यमा तत्कालीन नेपाल प्रहरीका सब–इन्स्पेक्टर उध्दव भण्डारीको भूमिका सार्वजनिक रूपमा स्वीकार भइसकेको उल्लेख गर्दै, अहिले आएर जनआस्थामाथि पुनः आरोप लगाइनु “चिहान उधिन्ने प्रयास” भएको टिप्पणी गरेका छन्।
देशसञ्चारमार्फत वरिष्ठ कलाकार बसुन्धरा भुसाल लाई प्रस्तुत गरी जनआस्थाविरुद्ध अभिव्यक्ति दिलाइनु पछाडि “कुन समय, कस्तो सन्दर्भ र कसको उद्देश्य” रहेको भन्ने प्रश्न पनि श्रेष्ठले उठाएका छन्।
उनले युवराज घिमिरेलाई “पत्रकारिताको गुरु” भन्दै पत्रकारिताको नैतिकता र विगतको लेखाइ सम्झन आग्रह गरेका छन्। साथै, जनआस्थामाथि निरन्तर भइरहेको आक्रमण र दबाबबीच पुरानो प्रकरण पुनः उचालिनु संयोग मात्र नभएको संकेत गर्दै, “जनआस्थाको लेखनयात्रालाई रोक्ने कुनै योजनाबद्ध अभियान त होइन ?” भन्ने आशंका व्यक्त गरेका छन्।