नुवाकोट  जेठ ५

प्रविधिको तीव्र विस्तारसँगै नेपालमा साइबर अपराधका घटना डरलाग्दो रूपमा बढिरहेका छन् । सोमबार मात्र  नुवाकोटका पूर्व सांसद तथा नेकपा नेता राजेन्द्रप्रकाश लोहनीलाई साइबर ठगहरुले ठगेको पाइएको छ। बैंकको KYC अपडेट गर्ने बहानामा आएको फोनपछि उनको खाताबाट करिब २ लाख ९४ हजार रुपैयाँ गायब भएको घटनाले साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
सामान्य नागरिक मात्र होइन, राजनीतिक नेतृत्व र सार्वजनिक व्यक्तित्वसमेत साइबर ठगीको जालमा पर्न थालेपछि अब यो समस्या व्यक्तिगत क्षतिमा सीमित नरही राष्ट्रिय चुनौतीका रूपमा देखिन थालेको छ । बैंकका नाममा फोन गर्ने, OTP माग्ने, लिंक पठाउने, एप डाउनलोड गराउने वा KYC अपडेटको बहाना बनाउने शैली अहिले साइबर अपराधीहरूको प्रमुख हतियार बनेको छ ।
विशेषगरी डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबार बढेसँगै साइबर गिरोह सक्रिय बनेका छन् । धेरै प्रयोगकर्ताले बैंकका संवेदनशील जानकारी फोनमै दिने, अपरिचित लिंक खोल्ने वा हतारमा प्रक्रिया पूरा गर्ने गर्दा ठगीको जोखिम झन् बढिरहेको छ ।
लोहनीले सामाजिक सञ्जालमार्फत “हेर्दाहेर्दै रकम गायब भयो” भन्दै पीडा व्यक्त गरेपछि सर्वसाधारणबीच पनि ठूलो चासो र त्रास फैलिएको छ । घटना लगत्तै उनले बैंक र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
यस घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ— सर्वसाधारणलाई साइबर सुरक्षाबारे पर्याप्त सचेतना दिन बैंक तथा सम्बन्धित निकाय किन असफल भइरहेका छन् ? बैंकहरूले नियमित रूपमा “OTP कसैलाई नदिनुहोस्” भन्ने सन्देश प्रसारण गरे पनि ठगीका घटना रोकिएका छैनन् ।