काठमाडौं बैशाख ३१
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्डअनुसार नभेटिएपछि दुई खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले २०८३ बैशाख ३१ गते प्रकाशित सूचनामार्फत बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा उत्पादनमा “एसिड भ्यालु” नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नपाइएको जनाएको हो।
विभागका अनुसार योसदा फुड्स प्रा.लि. द्वारा उत्पादित दुई खाद्य सामग्रीमा गुणस्तर समस्या भेटिएको हो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित ब्याच नम्बरका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न निर्देशन दिएको छ।
फिर्ता गर्न आदेश दिइएका खाद्य पदार्थहरूमा:
चाउचाउ (५० ग्राम), ब्याच नं. 02A, ब्रान्ड “लाली”
नुडल्स (१०० ग्राम), ब्याच नं. 04A, ब्रान्ड “करेन्ट”
रहेका छन्।
विभागका अनुसार चाउचाउको उत्पादन मिति २०८२/०९/२२ रहेको छ भने यसको उपभोग मिति १२ महिना तोकिएको छ। यस्तै नुडल्सको उत्पादन मिति २०८२/०२/२३ रहेको र उपभोग अवधि १२ महिना उल्लेख गरिएको छ।
विभागले उपभोक्तालाई यस्ता उत्पादन खरिद तथा उपभोग नगर्न आग्रह गर्दै बजारमा देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
योसदा फुड्स बिबादास्पद ब्यबसायी कमल किशोर मालपानी र काङ्ग्रेस नेता समेत रहेका चुन्न प्रसाद पौडेलसहितको कम्पनी हो।उनीहरु संलग्न अन्य उद्योगहरुमा राजश्व अनुसन्धान बिभागले लामो समयदेखि अनुसन्धान गरिरहेको छ।यता कमल किशोर मालपनीको नागरिकता समेत नक्कली रहेको यस अघि संचारमाध्यमहरु चर्चा भएको थियो।
