काठमाडौं फागुन  २८  नेकपा( एमाले)  का महासचिव शंकर पोख्रेलले आम निर्वाचन २०८२ को परिणाम आफ्नो पार्टीका लागि सुखद नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले १६५ वटै निर्वाचन क्षेत्रको परिणामको समीक्षा प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

उनका अनुसार प्रारम्भिक समीक्षा सम्पन्न भएपछि आम निर्वाचन २०८२ को समग्र मूल्याङ्कन गरिनेछ। उनले पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने उद्देष्यले केही मिडियामार्फत नेताहरूको नाममा भइरहेको “मिडिया ट्रायल” र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
पोखरेलले विगतका गम्भीर संकट र चुनौतीहरू पार गर्दै पार्टी यहाँसम्म आइपुगेको स्मरण गराउँदै अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै पार्टीलाई अझ मजबुत बनाइने बताएका छन्।

उनले जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्न विशेष जोड दिनुपर्ने उल्लेख गर्दै एकताबद्ध भएर काम गरे पार्टीले पुनः सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

एमाले महासचिव पोख्रेलको बिचार जस्ताकोतस्तै:

आम निर्वाचन -२०८२ को परिणाम हाम्रा लागि सुखद रहेन ।

१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ।

पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु।

विगतका गम्भीर संकट र चुनौतीहरूलाई सामना गर्दै हाम्रो पार्टी यहाँसम्म आइपुगेको हो। अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै हामी पुनः थप मजबुत भएर अघि बढ्नेछौं।

जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिऔं। एकताबद्ध भएर काम गर्यौं भने हामी अवश्य सफल हुनेछौं।