काठमाडौं, असार २१

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले बालेन्द्र साह नेतृत्वको सरकार अधिनायकवादउन्मुख यात्रामा अघि बढिरहेको आरोप लगाएको छ। पार्टीले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायका सवालमा सरकार अपेक्षाअनुसार सफल हुन नसकेको निष्कर्ष सार्वजनिक गरेको हो।
आइतबार अनामनगरस्थित संवाद डबलीमा पार्टीको केन्द्रीय प्रचार विभागद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष सन्तोष परियार ले सरकारको पहिलो १०० दिनले मुलुकमा आर्थिक संकट न्यूनीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, उद्योग–व्यवसाय संरक्षण तथा सार्वजनिक सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको बताए।
कार्यक्रमको सुरुवातमा केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङ ले पत्रकार सम्मेलनको उद्देश्य र महत्वबारे स्पष्ट पार्दै सरकारको १०० दिने कार्यकालबारे पार्टीको आधिकारिक समीक्षा सार्वजनिक गर्नुका साथै राष्ट्रिय महत्वका विषयमा पार्टीको दृष्टिकोण जनतामाझ राख्न कार्यक्रम आयोजना गरिएको बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष परियारले सार्वजनिक खर्चमा मितव्ययिता, प्रशासनिक सुधारका केही प्रारम्भिक प्रयास तथा अनावश्यक औपचारिकतामा कमी ल्याउने पहल सकारात्मक भए पनि त्यसले जनताले अपेक्षा गरेको सुशासन र आर्थिक सुधारको अनुभूति दिन नसकेको बताए।
प्रलोपाले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा भारत–नेपाल सीमाका विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाउँदै त्यसलाई नेपालको राष्ट्रिय अडान कमजोर बनाउने र राष्ट्रिय हितविपरीत रहेको जनाएको छ। पार्टीले सरकारसँग राष्ट्रियता र सार्वभौमसत्ताको विषयमा स्पष्ट र राष्ट्रहितअनुकूल धारणा सार्वजनिक गर्न माग गरेको छ।
पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक–समावेशी लोकतन्त्र तथा संविधानका उपलब्धिलाई व्यवहारमा कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको दाबी गर्दै शक्ति केन्द्रीकरण, असहमतिप्रति असहिष्णुता, संवैधानिक संस्थाहरूको भूमिकालाई सीमित गर्ने अभ्यास तथा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने गतिविधिले सरकार अधिनायकवादउन्मुख यात्रामा अघि बढिरहेको संकेत दिएको जनाएको छ।
त्यसैगरी, भूमिहीन, सुकुम्बासी तथा उत्पीडित समुदायमाथि बल प्रयोग र दमनको नीति अपनाइएको आरोप लगाउँदै पार्टीले संवाद र न्यायपूर्ण पुनर्स्थापनामार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
प्रलोपाले भ्रष्टाचार नियन्त्रण, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, सामाजिक न्याय, लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनलाई सरकारको मुख्य प्राथमिकता बनाउन आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता लक्ष्मी गुरुङ सहित केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा प्रलोपाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानका उपलब्धिको रक्षाका लागि वामपन्थी, समाजवादी, लोकतन्त्रवादी तथा देशभक्त शक्तिहरूबीच साझा सहकार्य र लोकतान्त्रिक एकता निर्माण गर्न आह्वान गरेको छ।