काठमाडौं  २०

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गरे अनुसार इरानले अमेरिकी लडाकु विमान खसालिएको र त्यसका पाइलटलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। इरानी सरकारी तथा निकटवर्ती सञ्चारमाध्यमहरूले अमेरिकी वायुसेनाको एक फाइटर जेट इरानी आकाशमा ध्वस्त भएको र त्यसका पाइलटलाई इरानी सुरक्षाकर्मीहरूले पक्राउ गरेको दाबी गरेका हुन्।
इरानको समाचार एजेन्सी तस्नीम का अनुसार, अमेरिकी लडाकु विमान इरानको कोहगिलुयेह र बोयर-अहमद प्रान्त नजिक खसालिएको हो। विमान ध्वस्त भएपछि पाइलटले इजेक्ट गरेर इरानी भूभागभित्र अवतरण गरेको र त्यसपछि उनी इरानी सेनाको नियन्त्रणमा परेको दाबी गरिएको छ।
समाचारमा उल्लेख भएअनुसार, विमान खसालिएपछि अमेरिकी सेनाले पाइलटको खोजी तथा उद्धारका लागि विशेष अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा ब्ल्याक हक हेलिकप्टर र हरक्युलिस सि -१३० विमान समेत परिचालन गरिएको बताइएको छ। तर इरानी स्रोतहरूले उक्त उद्धार प्रयास असफल भएको दाबी गरेका छन्।
यसैबीच, इरानी मिडियाले खोज तथा उद्धारमा संलग्न अमेरिकी ब्ल्याक हक हेलिकप्टर समेत इरानी सेनाले निशाना बनाएको र खसालेको दाबी गरेको छ। यद्यपि, यसबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा आफ्नो नयाँ उन्नत हवाई प्रतिरक्षा प्रणालीमार्फत अमेरिकी एफ -३५लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ। Iआइआर्जिसि का अनुसार, उक्त विमान इरानी हवाई क्षेत्रभित्र प्रवेश गरेपछि आक्रमणको निशाना बनेको थियो।
तर, सामाजिक सञ्जाल तथा विभिन्न प्लेटफर्ममा सार्वजनिक भएका विमानका भग्नावशेषका तस्बिरहरूलाई आधार मान्दै केही विश्लेषकहरूले भने इरानले दाबी गरेजस्तो त्यो एफ -३५नभई एफ -१५ इ हुनसक्ने आशंका व्यक्त गरेका छन्। यसले इरानको दाबीमाथि थप प्रश्न उठाएको छ।
हालसम्म अमेरिकाले भने इरानले गरेको यस दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। त्यसैले पाइलट पक्राउ परेको दाबी, विमानको वास्तविक प्रकार तथा उद्धार अभियानबारेका विवरणहरू अझै स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी नै छन्।