काठमाडौ
बिबिसी हिन्दीका अनुसार भारतका १०० जना प्रमुख लेखक, कलाकार तथा बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा संयुक्त वक्तव्य जारी गरेका छन्।
वक्तव्यमा प्रश्नपत्र चुहावट (पेपर लिक) र परीक्षा प्रक्रियामा बारम्बार देखिएका अनियमितताले सार्वजनिक संस्थाहरूप्रति नागरिकको विश्वासमा गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।
उक्त संयुक्त वक्तव्यमा जन्तर–मन्तरसहित देशका विभिन्न स्थानमा भइरहेको शान्तिपूर्ण लोकतान्त्रिक विरोध प्रदर्शनको समर्थन गर्दै आन्दोलनरत विद्यार्थीमाथि बल प्रयोग गरिएको समाचारप्रति गहिरो चिन्ता र असन्तुष्टि व्यक्त गरिएको छ।
हस्ताक्षरकर्ताहरूले भनेका छन्, “संवैधानिक लोकतन्त्रमा युवाहरूका जायज मागहरूको समाधान संवाद र न्यायको माध्यमबाट हुनुपर्छ, हिंसा वा डर–धम्कीमार्फत होइन।”
लेखक तथा कलाकारहरूले केन्द्र र राज्य सरकारसँग प्रश्नपत्र चुहावट तथा त्यससँग सम्बन्धित अनियमिततामा संलग्न व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गरेका छन्।
त्यसैगरी, विद्यार्थीहरूसँग इमानदार संवाद सुरु गर्न तथा उनीहरूमाथि भएको हिंसा र बल प्रयोगका घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेका छन्।
उनीहरूले देशभरका लेखक, कलाकार तथा बुद्धिजीवीहरूलाई पनि विद्यार्थीहरूको जायज मागको समर्थनमा उभिन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आवाज उठाउन आह्वान गरेका छन्।
यस संयुक्त वक्तव्यमा के. सच्चिदानन्दन, अशोक वाजपेयी, दामोदर मावजो, महेश एलकुन्चवार, बानू मुश्ताक, मल्लिका साराभाई, गीताञ्जली श्री, गीता हरिहरन, अनामिका, कुमार अम्बुज लगायत देशभरका १०० जना लेखक, कलाकार तथा बुद्धिजीवीहरूले हस्ताक्षर गरेका छन्।
बिबिसी हिन्दीबाट

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।