काठमाडौ
विश्वका धेरै ठाउँमा कुखुराको खुट्टालाई खान योग्य मानिँदैन। तर चीन, भियतनाम, सिंगापुर, दक्षिण अफ्रिका लगायतका देशहरूमा भने यो निकै लोकप्रिय परिकारका रूपमा प्रयोग गरिन्छ। पछिल्ला वर्षहरूमा यसको पोषण मूल्यका कारण विश्वव्यापी मागसमेत बढ्दै गएको छ।
बिबिसी हिन्दी⁠मा प्रकाशित एक रिपोर्टअनुसार सन् २०२२ मा अमेरिकाले मात्रै चीनलाई करिब १ लाख ३३ हजार ७ सय मेट्रिक टन कुखुराको खुट्टा निर्यात गरेको थियो।
कुखुराको खुट्टा के पाइन्छ?
विशेषज्ञहरूका अनुसार कुखुराको खुट्टामा शरीरका लागि उपयोगी धेरै पोषक तत्व पाइन्छन्। यसमा विशेषगरी कोलेजनको मात्रा धेरै हुन्छ। अध्ययनअनुसार कुखुराको खुट्टाको संरचनामा करिब ३०–३५ प्रतिशत कोलेजन हुन्छ।
यसमा पाइने मुख्य पोषक तत्व:
प्रोटिन
कोलेजन
जिलेटिन
क्याल्सियम
फस्फोरस
भिटामिन ए
फोलेट (भिटामिन B9)
ग्लाइसिन र प्रोलाइनजस्ता एमिनो एसिड
चेन्नईकी क्लिनिकल न्यूट्रिशनिस्ट डा श्री विद्याका अनुसार कुखुराका खुट्टामा रहेको कोलेजन शरीरले सजिलै अवशोषित गर्न सक्छ, जसले छाला, हड्डी र जोर्नीको स्वास्थ्यमा सहयोग पुर्‍याउँछ।
छाला र जोर्नीका लागि फाइदाजनक
उमेर बढ्दै जाँदा शरीरमा कोलेजन उत्पादन कम हुँदै जान्छ। यसले छाला सुख्खा हुने, चाउरी पर्ने तथा जोर्नी कमजोर हुने समस्या बढाउन सक्छ।
विशेषज्ञहरूका अनुसार कुखुराको खुट्टामा पाइने कोलेजन र जिलेटिनले:
छालाको स्वास्थ्य सुधार गर्न,
हड्डी बलियो बनाउन,
जोर्नीको दुखाइ कम गर्न,
आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ।
अस्टियोआर्थराइटिस भएका व्यक्तिहरूमा गरिएको केही अध्ययनले कोलेजन सेवन गर्दा जोर्नीको कडापन कम भएको देखाएको छ।
कसरी खाने?
विशेषज्ञहरूले कुखुराको खुट्टा राम्ररी सफा गरेर मात्र पकाउन सुझाव दिएका छन्। राम्रोसँग सफा नगरी वा नपकाई खाँदा साल्मोनेला र क्याम्पिलोब्याक्टरजस्ता ब्याक्टेरियाबाट संक्रमण हुन सक्छ।
पोषणविद्हरूका अनुसार:
सुप वा झोलमा पकाएर खानु सबैभन्दा राम्रो,
शोरबा वा ग्रेभीमा प्रयोग गर्न उपयुक्त,
धेरै तेलमा तारेको रूप भने स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
तारेको कुखुराको खुट्टामा ट्रान्स फ्याट, स्याचुरेटेड फ्याट र सोडियम बढी हुने भएकाले मुटु र तौलसम्बन्धी समस्या बढ्न सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन्।

कुखुराको मासुसँग तुलना

विशेषज्ञहरूका अनुसार कुखुराको ब्रेस्ट मासुमा प्रोटिन बढी पाइन्छ भने खुट्टामा बोसो र क्यालोरी बढी हुन्छ।
उदाहरणका लागि:
१०० ग्राम कुखुराको ब्रेस्टमा करिब २५–२७ ग्राम प्रोटिन हुन्छ।
१०० ग्राम कुखुराको खुट्टामा १५–१७ ग्राम प्रोटिन र बढी बोसो हुन्छ।
कति खाने?
विशेषज्ञहरूका अनुसार एक व्यक्तिले एकपटकमा:
४–५ वटा कुखुराको खुट्टा , वा
१००–१५० ग्राम सुप/झोल
सम्म सेवन गर्न सक्छ।
बालबालिका तथा वृद्धवृद्धालाई खुवाउँदा भने राम्रोसँग चपाएर मात्र खान दिनुपर्ने सुझाव दिइएको छ।
समग्रमा, कुखुराको खुट्टामा पोषणयुक्त तत्व भए पनि सफाइ, पकाउने तरिका र सीमित मात्रा अत्यन्त महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ।