काठमाडौ बैशाख २,
बीबीसी हिन्दीका अनुसार, हिन्द महासागर अन्तर्गत अन्डमान सागरमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा करिब २५० जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघका शरणार्थी तथा आप्रवासन एजेन्सीले दिएको जानकारीअनुसार बेपत्ता हुनेहरूमा रोहिंग्या र बंगलादेशी नागरिक रहेका छन्, जसमा बालबालिका समेत समावेश छन्।
बंगलादेशबाट मलेसिया जाँदै गरेको उक्त डुंगा खराब मौसम, तीव्र हावा र अत्यधिक यात्रु बोकेका कारण दुर्घटनामा परेको बताइएको छ। बंगलादेश कोस्ट गार्डका अनुसार अप्रिल ९ मा सोही डुंगाबाट ९ जनालाई उद्धार गरिएको थियो, तर डुंगा कहिले डुब्यो भन्ने स्पष्ट हुन सकेको छैन।
बीबीसी हिन्दीका अनुसार, रोहिंग्या समुदाय म्यानमारको मुस्लिम अल्पसंख्यक समूह हो, जो २०१७ मा भएको हिंसात्मक दमनपछि ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए। म्यानमारले उनीहरूलाई नागरिकता नदिएकाले तथा बंगलादेशस्थित शरणार्थी शिविरको कठिन अवस्थाका कारण धेरै रोहिंग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेसिया पुग्ने प्रयास गर्ने गरेका छन्।
उद्धार गरिएका एक व्यक्तिले आफूहरू ३६ घण्टासम्म समुद्रमा पौडिएर बाँच्न बाध्य भएको बताएका छन्। उनले मलेसियामा रोजगारीको आश्वासन पाएपछि यात्रा गरेको पनि बताएका छन्।
