काठमाडौं बैशाख ३

उपसभामुख रुवि कुमारीले   दाइजो प्रथाविरुद्ध हमला  गर्दै  दहेज लेनदेन भएको विवाहमा आफू सहभागी नहुने घोषणा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय धेरै विवाहका निमन्त्रणापत्र प्राप्त गरिरहेको तर अधिकांश कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नदेखिएको बताएकी छन्। यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ।
ठाकुरले दाइजो लिनु–दिनु मात्र नभई दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गरेकी छन्। उनका अनुसार यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।
उनले समाज परिवर्तन र देश विकासको कुरा गर्ने हो भने परिवर्तनको सुरुवात व्यक्तिगत तहबाट गर्नुपर्नेमा जोड दिँदै सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने बताइन्।
यसै सन्दर्भमा उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने जानकारी गराउँदै सबैलाई दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन्।
उपसभामुख ठाकुरले विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गर्नसमेत अनुरोध गरेकी छन्।
उनले सबैलाई मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चाल्न अपिल गरेकी छन्।