काठमाडौं । चर्चित विचौलिया दिपक भट्ट समुहले सेटिङमा हत्याएको एक लघु बिमा कम्पनिमा गृहमन्त्री सुधन गुरुङ पनि पार्टनर रहेको तथ्य भेटिएको छ ।
सम्पत्ति सुद्धिकरण सम्बन्धी अपराधको अभियोगमा हाल सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको अनुमतिले ललितपुरको पुल्चोकस्थित प्रहरी हिरासतमा रहेका भट्ट समुहसँग गृहमन्त्री सुधन गुरुङको समेत साझेदारी देखिएको हो ।
२०७९ सालमा सम्पन्न संघ, प्रदेश र स्थानिय तहको निर्वाचन सकिएलगत्तै विचौलिया भट्टको समुहलाई पोस्ने गरी नेपाल विमा प्राधिकरणले ७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । दिपक भट्टको दबावमा शंकर समुह, ईन्फिनिटी होल्डिङ, शेखर गाल्छा, भवानी राणा, पशुपति मुरारका, हरि न्यौपाने, किशनलाल दुगड, आरएमसी जस्तापाता, राजेश अग्रवाल लगायतलाई फाइदा पुग्ने गरी ७ लघु बीमा कम्पनिले लाइसेन्स पाएका थिए । यसरी लाइसेन्स पाउने मध्ये एक हो— स्टार माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेड ।

सुजन आचार्य अध्यक्ष रहेको यो कम्पनिमा ४ जना संचालक छन् । संचालक रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको ईन्फिनिटी होल्डिङको कर्मचारी हुन् । उनी समेत संचालक रहेको कम्पनिमा ५७ जना सेयर होल्डर छन् । दिपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समुहको स्वामित्व रहेको जगदम्बा ईन्टरप्राइजेजको यो कम्पनिमा २५ लाख रुपैयाँ बराबरको शेयर रहेको छ ।
त्यतिनै रकम अर्थात २५ लाख रुपैयाँ बराबरको शेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य भेटिएको हो । ४९ नम्बरमा नाम रहेका गुरुङको स्थायी ठेगाना चुमुनुब्री वडा नम्बर २ रहेको सेयर लगतमा उल्लेख छ । उनको बाबुको नाम दिलबहादुर गुरुङ उल्लेख छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको गृहमन्त्री सुदन गुरुङका व्यक्तिगत विवरण र दिपक भट्टको समुह र शंकर समुहसँग साझेदारी रहेको सेयर लगतमा रहेको व्यक्तिगत विवरण मिल्दोजुल्दो छ ।
तर, गुरुङले यो भट्ट समुह र अग्रवाल समुहको यो लघु विमामा रहेको सेयर रकम भने आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।
हिमालखबरमा प्रकाशित रिपोर्ट अनुसार न्युन आय भएको जनताको बीमामा पहुँच पुर्याउने नाममा तत्कालिन विमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले भट्ट समुह र अग्रवाल घारानालाई मात्रै फाइदा पुग्ने गरि ७ लघु बिमा कम्पनिको लाइसेन्स वितरण गरेको थियो । लाईसेन्स दिने सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही समयमा सेटिंगमा लिइएको लाइसेन्सवाला कम्पनिमा गृहमन्त्रीको साझेदारी देखिएको हो ।
कम्पनि रजिष्ट्रार कार्यालय स्रोतबाट प्रमाण अनुसार यो कम्पनिमा अधिकांश लगानी कर्ता भट्टकै तर्फबाट विभिन्न कम्पनिमा प्रतिनिधित्व गर्नेहरुको छ । दिपक भट्ट मुछिएको विवादास्पद कम्पनि हिमालयन लाईफ ईन्स्योरेन्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णकी छोरी अदिति कर्णको नाममा २ लाख रुपैयाँ बराबरको शेयर रकम रहेको शेयर लगतमा देखिन्छ । दिपक भट्टका लागि अर्थमन्त्रालयमा बसेर करका दर हेरफेर गरेको अभियोग लागेका तत्कालिन सुब्बा रघुनाथ घिमिरेको छोरी रशा घिमिरेको नाममा पनि १ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । सुब्बा घिमिरे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड १४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा समेत दायर गरेको थियो ।
सम्पत्ति सुद्धिकरण कसुरमा पक्राउ परि छुटेका शंकरलाल अग्रवालको बहिनी रेनु अग्रवालकी कान्छि बुहारी श्रेया रुङ्गटाको नाममा रहेको लुबुचे ईन्भेष्टमेन्टको १५ प्रतिशत सेयर स्टार माइक्रो ईन्स्योरेन्समा छ ।
स्टारका प्रमुख दुई लगानीकर्ता मध्ये घान्द्रुक इन्भेस्टमेन्टको १५ प्रतिशत शेयर स्वामित्व देखिन्छ । २०७९ भदौ ३० मा दर्ता लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ । श्रेयाका पति आयुष गुप्ता जगदम्बा ग्रुपको कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ । घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ । स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनु सहित रमेश अग्रवाल र अनिल रुङ्गटाको शेयर स्वामित्व छ । वेभसाइटमै जगदम्बा स्टिल उत्पादक कम्पनि जगदम्बा ईन्टरप्राइजेजको स्वामित्व शंकर समुहको रहेको देखिन्छ ।
त्यस्तै अनलाइन खबर नेपालको स्वामित्वमा रहेको रेमी क्याफफिनको पनि यो कम्पनिमा सेयर रहेको लगतमा देखिन्छ । २०७९ भदौ २३ मा दर्ता भएको देखिएको यो कम्पनि प्रतिष्ठित अनलाइन खबर डटकम पनि यसैको स्वामित्वमा छ । यसले मिडियामा समेत दिपक भट्टको प्रभाव रहेको स्पष्टै बुझ्न सकिन्छ ।
न्यु बिजनेश ऐज नामक मिडियामा शंकर समुहकै पारिवारिक सदस्य तथा जगदम्बा समुहको निर्देशकको रुपमा रहेकी सुभी अग्रवाल प्रोफाइल छाप्ने मदन लम्सालले पनि यो कम्पनिमा शेयर पाएका छन् ।
दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले फरार सूचीमा राखि अभियोग पत्र दर्ता भएका यति समुहका अध्यक्ष लाक्पा सोनाम शेर्पा पनि यो कम्पनिका शेयर होल्डर हुन् ।
त्यस्तै २५ करोड रुपैयाँ भन्दा बढि राजश्व छलीमा मुछिएर अनुसन्धानमा रहेको भगवती लामिनेट्स प्रा.लीका संचालक रजनीश करनानी पनि गृहमन्त्री गुरुङका व्यावसायीक साझेदार हुन् । करनानीको १० लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । नेपाल प्रहरीका पूर्व एआइजी हरि बहादुर पालको नाममा पनि १ लाख रुपैयाँको सेयर यो कम्पनिमा रहेको छ । विचौलिया भट्टकै नातेदार रामचन्द्र भट्टपनि गृहमन्त्री गुरुङका साझेदार हुन् । उनको पनि यो कम्पनिमा ५ लाख रुपैयाँको शेयर देखिन्छ ।
भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने पर्ने लगायतको माग राखि भदौ २३ गते शान्तिपूर्ण रुपमा सडकमा आएका जेनजी पुस्ताका बालबालीकामाथि तत्कालिन सरकारले बर्बर दमन गरेको थियो । सोही आन्दोलनमा सहभागी भएका सुधन गुरुङ भदौ २४ गते जेनजीको तर्फबाट नेपाली सेनासँग वार्ताका लागि अग्रसर भएका पात्र हुन् । उनकै गुरुङकै आदेशमा पूर्वप्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनेको थियो । त्यसपछि एकाएक चर्चामा आएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वार्ता गराउन सक्रिय थिए । उनकै जोडबलमा पूर्व उर्जामन्त्री कुलमान घिसिङलाई समेत वार्ता र सहमतिका लागि कोशिस भएका थिए । तर, घिसिङ रास्वपामा गएपनि फेरी पुरानै आफ्नो पार्टी उज्यालो नेपालमा फर्किए ।
यता गुरुङ, लामिछाने र शाहसहितको एकतामा गत फागुन २१ मा रास्वपा चुनावमा होमिएको थियो । गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार बनेका गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि उनी एकाएक गृहमन्त्री बनेका थिए । गृहमन्त्री हुनेवित्तिकै ‘स्टन्ड’मा उत्रिएका उनकै निर्देशनमा जेनजी आन्दोलनमा चरम दमन गर्ने पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । मृतक परिवारलाई न्यायको वास्तविक अनूभूति दिनुको सट्टा गृहमन्त्रीकै ‘स्टन्ड’ का कारण आम नरसंहार जस्तो गम्भिर अपराधमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले उन्मुक्ति पाएका छन् ।
यता आर्थिक सुशासनको मागसहित विचौलिया नियन्त्रित अर्थतन्त्रको विरोधमा सडकमा उत्रिएको जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै गृहमन्त्री नियुक्त भएका गुरुङ नै विचौलिया संलग्न रहेकाे कम्पनिकाे साझेदार देखिएका छन् ।
उनको नेतृत्वको हामी नेपाल नाम संस्थामा पनि सबैभन्दा ठूलो दाताको रुपमा शंकर समुह नै देखिन्छ । सोही शंकर समुह र भट्टको समुह जोडिएको कम्पनिमा गुरुङको समेत साझेदारी देखिएपछि बालेन नेतृत्वको सरकारमाथि नैतिक प्रश्न समेत खडा भएको छ ।
गृहमन्त्री गुरुङले सम्पत्ति विवरणबारे प्रश्न उठेपछि ‘ गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।
