काठमाडौं बैशाख ८

राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङले  सामाजिक सञ्जालमार्फत दिइएको स्पष्टिकरणप्रति गम्भीर आपत्ति जनाएकी छन्। गृहमन्त्रीमाथि उठेका विभिन्न आरोपबारे फेसबुकमार्फत प्रतिक्रिया दिनु विधिसम्मत प्रक्रियालाई कमजोर बनाउने र राज्य संस्थाको विश्वसनीयतामा आघात पुर्‍याउने कदम भएको उनको टिप्पणी छ।
उनले आफ्नो धारणा सार्वजनिक गर्दै गम्भीर आरोपहरूको जवाफ सामाजिक सञ्जालमा दिनु उपयुक्त अभ्यास नभएको बताइन्। “यदि यस्तो अभ्यासलाई स्वीकार गरियो भने, भोलि सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी अभियोगमा परेका जोसुकैले पनि सामाजिक सञ्जालमै आफू निर्दोष भएको दाबी गर्ने अवस्था आउन सक्छ,” उनले भनेकी छन्।
ओलीका अनुसार गृहमन्त्रीजस्तो संवेदनशील जिम्मेवारीमा रहेको व्यक्तिले यस्तो विषयलाई हल्का रूपमा लिनु हुँदैन। “यो व्यक्तिगत अभिव्यक्तिको विषय होइन, संस्थागत मर्यादाको प्रश्न हो,” उनको जोड छ।
उनले निष्पक्ष छानबिनको आवश्यकता औंल्याउँदै स्वयं-प्रमाणिकरणबाट कुनै पनि मुद्दा टुंगिन नहुने स्पष्ट पारेकी छन्। “सिद्धान्ततः कुनै पनि व्यक्ति आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन सक्दैन,” उनले भनिन्।
साथै, पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्रीले पदबाट अलग भएर स्वतन्त्र छानबिनको सामना गर्नुपर्ने उनको माग छ। “निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नुपर्छ,” उनले उल्लेख गरिन्।
गृहमन्त्रीले पार्टीको निर्णयअनुसार चल्ने अभिव्यक्ति दिएको विषयमा पनि ओलीले प्रश्न उठाएकी छन्। उनका अनुसार गृहमन्त्रीले पार्टी होइन, राज्यका आधिकारिक संयन्त्रको निर्णयअनुसार काम गर्नुपर्छ। “आफैं मन्त्रालय हाँक्ने र अनुसन्धान पनि आफैं गर्ने अवस्था हुन सक्दैन,” उनले भनिन्।
ओलीले  निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।