काठमाडौ बैशाख १६
श्रम, संस्कृति पार्टीका अध्यक्ष  तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङले  सुकुम्बासीको लागत माग्ने अधिकार सेना र प्रहरीलाई नभएको स्पष्ट पारेका छन्। “सेनाले मागेको सुकुम्बासीको लागत कुनै पनि पालिकाले नदिनु होला,” भन्दै उनले यस्तो कार्य सरासर गलत भएको टिप्पणी गरेका छन्। उनका अनुसार सुकुम्बासी व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायको हो, सुरक्षा निकायको होइन।


उनले थपे, “सुकुम्बासीको लागत माग्ने निकाय सेना र प्रहरी होइनन्। यो कार्य आतंक सिर्जना गर्ने नियतले गरिएको हो।” उनको यो अभिव्यक्तिले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ।
हाल देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने विषय विवादित बन्दै गएको छ। साम्पाङले सेनाको सक्रियताबारे बारम्बार प्रश्न गर्दै आएका छन् ।