काठमाडौं बैशाख २४

सहकारी संकटले देशभर हजारौँ बचतकर्ताको रकम अलपत्र परिरहेका बेला एक सहकारी संस्थाले कलाकार सिताराम कट्टेल (धुर्मुस) र उनका सालो कृष्ण घिमिरेसँग जोडिएको ऋण विवाद सार्वजनिक गर्दै कडा चेतावनी दिएको छ।
जेष्ठ बचत तथा ॠण सहकारी सस्था लिमिटेडको नामको फेसबुक पेजमा “सदस्य समन्वय समिति” र “ऋण असुली टिम” नामबाट सार्वजनिक गरिएको लामो सन्देशमा संस्थाले कृष्ण घिमिरेले लिएको करिब ७० लाख रुपैयाँ बराबरको ऋण लामो समयदेखि नतिरेको आरोप लगाएको छ। उक्त ऋण धुर्मुस–सुन्तली फाउन्डेसनसँग सम्बन्धित गतिविधिका लागि लिइएको दाबी पनि गरिएको छ।
समितिका अनुसार, कुन्जना घिमिरे (सुन्तली) का भाइ कृष्ण घिमिरेले छोटो अवधिका लागि ऋण लिएका थिए। सहकारीले दाबी गरेअनुसार चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक अभाव भएपछि फाउन्डेसनका तर्फबाट रकम आवश्यक परेको भन्दै सहकारीसँग सहयोग मागिएको थियो।
सन्देशमा उल्लेख छ, “दैनिक टिकट बिक्री र उठेको सहयोग रकमबाट किस्ताबन्दीमा रकम फिर्ता गर्ने सर्तमा ऋण दिइएको थियो, तर तीन वर्ष बितिसक्दा पनि रकम फिर्ता भएको छैन।”
समितिले अहिले कृष्ण घिमिरे बेलायतमा रहेको र सामाजिक सञ्जालमा रमाइलो जीवन बिताइरहेको देखिएको आरोप लगाएको छ। त्यस्तै धुर्मुस–सुन्तली अमेरिका बसाइमा रहेको तथा त्यहाँ घर खरिदसम्म गरेको भन्दै सहकारी पीडितले असन्तुष्टि व्यक्त गरेका छन्।
सहकारी पक्षले अझै गम्भीर आरोप लगाउँदै भनेको छ, “सदस्यहरूले रगत पसिना बगाएर जम्मा गरेको बचत फिर्ता पाउन सकेका छैनन्, तर ऋणीहरू विदेशमा मोजमस्ती गरिरहेका छन्।”
सन्देशमा धुर्मुसलाई प्रत्यक्ष सम्बोधन गर्दै “देशभक्ति र सामाजिक सेवाको नाममा ख्याति कमाउनेहरूले नै जिम्मेवारीबाट भाग्न मिल्छ ?” भन्ने प्रश्न गरिएको छ।
यद्यपि समितिले सदस्यहरूलाई गालीगलौज नगर्न आग्रह गर्दै “कलाकार देशका गहना हुन्, हाम्रो उद्देश्य सामाजिक दबाबमार्फत ऋण असुली गर्नु हो” भनेको छ।
सहकारीले कानुनी प्रक्रिया अघि बढिसकेको चेतावनी पनि दिएको छ। “सरकार अहिले कडा छ, ऋण असुलीका लागि कानुनी बाटोमा संस्था अघि बढिसकेको छ,” सन्देशमा भनिएको छ।
उक्त सार्बजनिक सूचना बारे जानकारी लिन सम्बन्धित पक्षलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

सहकारीको सूचना तल

आदरणिय शेयर सदस्य एवं सरोकार वाला सम्पुर्ण शुभचिन्तक ज्युहरु ।
हामि निरन्तर अनेक उपायका साथ पहल गरिरहेका छौ ।

वहाँ महाशय कृष्ण घिमिरे हाम्रो संस्थाको ऋणी सदस्य हुनुहुन्छ ।

वहाँ धुर्मुस सुन्तलि फाउन्डेसन को सन्चालक सदस्य एवं प्रतिष्ठित कलाकार सीताराम कट्टेल (धुर्मुस ) का आफ्नै सालो र प्रसिद्ध कलाकार कुन्जना घिमिरेको भाई हुनुहुन्छ।
आम जन समुदाय बिच चर्चित कलाकार धुर्मुस सुन्तलीले भुकम्प र कोभिड पछि गरेका सामाजिक कामहरु सँगै धुर्मुस सुन्तली फाउन्डेसन नामक संस्था नै खोली बस्ती निर्माण, बाढिपिडितलाई सहयोग जस्ता अनेकौँ कामहरु गरेर ख्याति कमाएर नपुगेर नेपाल र नेपालीको सान बढाईरहेको क्रिकेट खेल क्षेत्रको विकासका लागी जनस्तर बाटै मागेरै रङ्गशाला मैदान बनाउने महत्वाकांक्षी योजना स्वरूप चितवनको रामपुरमा सुरु गरेको आम समुदाय लाई जानकारी नै होला ।यहि रङ्गशाला निर्माण कार्य गर्दै जाँदा कोभिड र अन्य अवरोध का कारण रङ्गशाला निर्माणमा रकम अभाव भई चेक बाउन्स भएर फाउन्डेसन कालोसुचीमा जाने भएपछि रोईकराई संस्थाका सचिव मधुसूदन पाठकसँग अनुनयबिनय गरि दैनिक टिकटको रकम र  दैनिक उठेको सहयोग रकमबाट दैनिक चुक्ता गर्दै जानेगरि ससर्त ६ महिनाका लागि फाउन्डेसन का संचालक कृष्ण घिमिरेको नाममा कर्जा मागेको र संस्थामा  छलफल गरि छोटो अबधि कर्जा दिईएको बुझिएको छ ।
निज कृष्ण घिमिरे हाल UK मा कमाएर रमाएर हिडिरहेको र मेसेन्जरमा कुरा गर्दा फाउन्डेसन ले लिएको हो भिनाजुसँग कुरा गर्नुस ,महानगरले तिर्छ जस्ता गैरजिम्मेदार कुरा गर्दै पटकपटक टार्दै बिदेशमा मोजमस्ति गरेर हिँडेको संजालमा देख्न सकिन्छ।
त्यस्तै उनका दिदिभिनाजु धुर्मुससुन्तली अमेरिकामा घर समेत किन्दै मोजमस्तीका तस्विर सार्वजनिक गरिरहेको संजाल मै देखिरहेका छौ वहाँसँग बारम्बार समितीका सदस्य एवं ऋण असुली कर्मचारि ले what’s app र मेसेन्जरमा कुरा गर्दा चितवन महानगरले तिर्छ मिलाई सक्यौ अब नयाँ सरकार छ अब केही हुन्छ जेठसम्म कुरिदिनु भन्नुहुन्छ रे । के अब यो ऋण उठाउन तपाईहरुसंग लड्नै पर्ने हो ??? तपाईहरुको कारण हामि सदस्यहरुको बचत फिर्ता गर्न संस्थाले सकेको छैन ३ बर्ष भो !!
करिब ७० लाख तिर्नबाँकि कर्जा देखिन्छ। आम सदस्य ज्युहरुलाई सबै बचत रङ्गशालामा लगानी भयो भनेर भ्रम छरिएको पनि देखियो ,कति मिडियाले नै जेष्ट  सहकारिको सबै रकम रङ्गशालामा लगानी भई डुब्यो भने जस्ता भ्रामक
समाचार पनि सम्प्रेषण गरे ,सञ्चालक समितिलाई अनेक आरोप र भ्रामक अविश्वास समेत पैदा भएको देखिन्छ। संस्थाले परेको बेला सामाजिक काम गरिरहेका तपाईंलाई ऋण दिई नियमअनुसार सहयोग गर्यो  यस संस्थाका बिभिन्न कार्यक्रम, साधारण सभा लगायतमा धुर्मुस को आतिथ्यता समेत देखिन्थ्यो, आखिर तपाईले सकेर पनि आफ्नो कर्तव्य
बिर्सेर संस्थालाई ऋण फिर्ता नगर्नु ,अन्याय होईन ? तपाईको नियत के हो भन्ने यसैमा प्रष्ट हुनु हो आदरणीय कलाकार धुर्मुस यथासिघ्र ऋण फरफारक गर्नुहोस र आफ्नो जिम्मेवारी पुरा गरिदिनुहोस, यो संस्था सबैको साझा संस्था हो तपाईको बाहुलीमा तपाईकै सालोको नाममा फाउन्डेसन कै लागि वा व्यक्तिगत के हिसाबले ऋण लगिएको हो ,र यो कहिले फिर्ता हुन्छ तपाईको योजना के हो ?के सँधै हामि बचतकर्ता मरिरहनु पर्ने हो ?
कृष्ण जी तपाई यस्ता गैरजिम्मेदार अभिव्यक्ति नदिनुस र समयमै कर्जा भुक्तानी गर्नुस  ।अन्यथा सरकार कडा छ ऋण असुलीका लागी कानुनी बाटोमा संस्था अघि बढिसकेको छ ,स्मरण रहोस्  ।
ऋण तिर्नु र हिसाब मिलान गर्नु सबैको नैतिक कर्तव्य हो संस्थालाई सहयोग गर्नुपर्ने बेला छ ,कम्तिमा लगेको ऋण त तिरिदिनुस, देशैभर सहकारी समस्याका कारण लाखौ सदस्य र व्यवसायी हताहत छन ,तपाईँहरूलाई बिदेशमा मोज छ ,यता महँगी र अभाव मा हामी छटपटाईरहनुपर्ने ,रगतपसिना बगाएर राखेको रकम नपाउने अनि तपाई हरु ले ऋण तिर्न चै नपर्ने ???
धुर्मुस जी तपाईको सामाजिक मनोभाव र देशभक्ति यही हो त ??बिदेशी भुमीमोहले सबै जिम्मेवारी पुरा नहोला जन्मभूमिलाई सम्झेर यस्ता व्यवहार मिलाउनुस ।

आदरणिय सदस्य ज्युहरु हिजोका गलत संगत र लगानी साथै अस्थिर राजनीतिक कारण अर्थतन्त्र ध्वस्त हुनुले पनि यहाँहरुको बचत फिर्ता पाउने अधिकार अल्झिएको छ तर हाम्रो निरन्तर खबरदारी र आवश्यक पहल कदमी रहनेछ ढुक्क हुनुहोस हामि रकम दिलाएरै छाड्नेछौ  ,कतिञ्जेल अटेर गर्छौ, खुरुक्क ऋण तिर सारा संचालक कर्मचारी तथा निर्दोष सदस्य
हरुको आँसुले भतभत पोल्छ, खरानी हुनेछौ ,हेर्दै जाऊ ।
सत्य अडिग हुन्छ। कोहि अजम्मरी छैन मात्र कुरा के हो भने जिम्मेवार बनौ। सत्यको बाटो कठिन छ तर हिँड्नुपर्छ गलत बाटो छोड्नुपर्छ।
सबैलाई चेतना रहोस् ।हिसाब मिलान गर्नुपर्छ सबैले बिषम परिस्थितिको बाबजुद पनि गरिएका पहलहरूलाई र देशको अर्थराजनीतिक स्थितीलाई समेत हेक्का राख्दै ,अनुशासित हिसाबले संस्थाको हरहिसाब फरफारक गर्न आवश्यक सहयोग गरिदिनुहुन र यो सन्देश मार्फत तल उल्लिखित मेसेन्जर लिंक, what’s app नं मा सिताराम कट्टेल धुर्मुस र सदस्य कृष्ण घिमिरे जी लाई सम्पर्क गरि सकारात्मक दबाब सिर्जना गरिदिनुहुन सम्पुर्ण सदस्य ज्युहरुलाई अनुरोध गर्दछौ ,अनावश्यक कमेन्ट, गाली र छाडा शब्दावलीबाट कसैले गाली नगरौ है कलाकार देशका गहना हुन ,हाम्रो उद्देश्य ऋण असुली गर्नु हो गाली गर्नु होईन यो अति भएपछिको सामाजिक दबाब होस भनि र यथार्थताका लागी सन्देश प्रवाह गरिएको छ अन्यथा नलिईदिनुहोला संयमित हिसाबले हिसाब फरफारक गर्ने हाम्रो चाहना लाई बुझिदिनुहुन पनि सबैसबैलाई अनुरोध गर्दछौ।
What’s app no –9851414317,9851007770

फेसबुक लिंक धुर्मुस-https://www.facebook.com/share/1BRCP8bXMi/?mibextid=wwXIfr
फेसबुक लिंक कृष्ण-https://www.facebook.com/krishna.ghimire.50746

सदस्य समन्वय समिति।
ऋण असुली टिम ।