काठमाडौं, जेठ २३
लेखक तथा विश्लेषक यादव देवकोटाले गोल्डस्टार जुत्ता बहिष्कार गर्ने घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद तथा गोल्डस्टार जुत्ता उत्पादक कम्पनीका मालिक व्यवसायी विदुषी राणा विरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
देवकोटाले सामाजिक सञ्जालमार्फत मुक्तिनाथ मन्दिरमा आफूले देखेको एक घटनाको वर्णन गर्दै विदुषी राणाले लामो लाइन मिचेर मन्दिरभित्र प्रवेश गरेको आरोप लगाएका छन्। उनका अनुसार मन्दिरमा दर्शनका लागि सयौं श्रद्धालु लाइनमा रहेका बेला राणा सिधै अगाडि पुगेकी थिइन्।
घटनापछि आफूले “देशमा नीति र थिति बसाउने कुरा गर्नेहरू नै मन्दिरमा लाइन मिचिरहेका छन्” भन्दै टिप्पणी गरेको र त्यसपछि राणा तत्काल पूजा गरेर हिँडेको देवकोटाको दाबी छ।
देवकोटाले अस्पताल र मन्दिरमा लाइन मिच्ने प्रवृत्तिलाई गम्भीर सामाजिक विकृतिका रूपमा चित्रण गर्दै धन, शिक्षा वा पदभन्दा पनि नागरिक संस्कार र नैतिकता महत्वपूर्ण हुने बताएका छन्। उनले आफू लामो समयदेखि गोल्डस्टार जुत्ता प्रयोगकर्ता रहेको उल्लेख गर्दै उक्त घटनापछि अब गोल्डस्टारका उत्पादन प्रयोग नगर्ने निर्णय गरेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले व्यवसाय सञ्चालन, श्रमिकको अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत प्रश्न उठाएका छन्। साथै, राजनीतिक पहुँचका आधारमा व्यवसायिक सफलता र सार्वजनिक छविबीचको सम्बन्धबारे पनि टिप्पणी गरेका छन्।
यद्यपि, देवकोटाले लगाएका आरोपबारे विदुषी राणा वा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। घटनाको स्वतन्त्र पुष्टि समेत हुन बाँकी छ।
यादव देवकोटाको स्टाटस जस्ताकोतस्तै
विदुषी राणा । सुप्रसिद्ध गोल्डस्टार जुत्ता उत्पादक कम्पनीको मालिक । देशमा थिति र निती बदल्ने होहल्ला गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद ।
हिजो जून ५, शुक्रबारको दिन विदुषीजी मुक्तिनाथ मन्दिर जानुभएको रहेछ। मानिसहरुको लामो लाम थियो । उहाँ झण्डै तीनसय मानिसको लाइन मिचेर स्वाट्टै मन्दिरको ढोकामा छिर्नुभयो।
उहाँले मलाई चिन्ने कुरा भएन । म त नागरिक – आफ्नो देशका भगवानहरुलाई चिन्नु नै पर्यो । मैले देख्दादेख्दै उहाँले लाइन मिचेपछि मैंले उहाँले सुन्ने नै गरि भनें – मन्दिरमा त लाइन मिच्ने यस्ता मानिसहरु देशमा थिति बसाउने गफ बेचेर हिँडेका छन् । नीति र नियम बनाउने थलोमा छन् । मुक्तिनाथ बाबा देशलाई यी मानिसहरुबाट बचाउ ।
त्यो सुनेर उहाँ र उहासँगै लाम मिचिरहेका अरु तीन उहाँका मानिस मतिर फर्किए । विदुषीजीले बिजुली गतिमा सल/ज्याकेटले मुहार छोप्नुभयो र स्वास फेर्न पनि नभ्याएला जस्तो गतिमा पुजा गरेर हिँड्नुभयो।
म मन्दिर, देवताको विश्वासी होइन । तर, अरुको विश्वासको अपमान मेरो बाटो होइन । म मेरा साथीहरुसँग पुगेको थिएँ। गएपछि साथीहरुको सम्मानवश मन्दिरको गेटसम्म गएको थिएँ। मजस्तो अधार्मिक मानिसलाई समेत घिनलागेको त्यस्तो काम गरेर के धर्म कमाउन जानुभएको होला विदुषीजी ?
यो देशमा सकेसम्म र पाएसम्म सर्टकटमा अघि बढ्न चाहने को छैन र ? तर, मलाई अस्पताल र मन्दिरमा लाइन मिच्ने मानिसहरु यो धर्तिका सबैभन्दा तुच्छ लफङ्गाहरु लाग्छन् ।
मानिससँग न त धन मात्रै भएर हुने रहेछ न त पढाई नै। उसलाई चाहिने रहेछ मान्छे हुने प्रज्ञा र संस्कृति।
म सकेसम्म गोल्ड स्टार जुत्ता लगाउने मान्छे । अब मलाई पुग्यो । मन्दिरमा त सर्टकटमा इन्टरटेन गर्ने यस्ता लफङ्गाहरुले व्यापारमा कति सर्टकट गरिरहेका होलान्? कम्पनीमा काम गरिरहेका मानिसहरुको श्रममा कति सर्टकट गरिरहेका होलान्? या श्रमऐेन मुताबिक पारिश्रमिक दिइएको छ कि छैन होला?मिडिया जयजयकारमा छ । सर्टकट रोजिरहेका यस्ता मानिसहरुले संचालन गरेको श्रमशिविरको यथार्थ लेखे विज्ञापन आउँदैन। अनि किन लेख्ने ?
देशका अरु व्यावसायीहरुको व्यवसाय अमुक दलसँग नजिक रहेको भन्दै जलाएर खरानी बनाइएको बखत विदुषीहरु कसरी जलाउनेहरुको प्रियसूचीमा परेर सांसद बन्नुभयो? अब देश जलाउने लफङ्गाहरुको समूहमा जतिसुकै सफल व्यवसाय चलाएपनि कस्ता सर्टकटहरु जम्मा भएका रहेछन् भन्ने एकपछि अर्को गरेर खुलिरहेकै छ।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।