काठमाडौ बैशाख २५

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीका संरक्षक रहेका पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई  र अध्यक्ष परिषद्का सदस्य सुदन किरातीलाईलाई औपचारिक रूपमा बिदाइ गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना दिएको छ।
आज बसेको अध्यक्ष परिषद्को बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्दै विभिन्न राजनीतिक तथा सांगठनिक निर्णयहरू गरेको हो। बैठकले आगामी महाधिवेशनसम्म पार्टीको बैठक सन्तोष परियारको अध्यक्षतामा सञ्चालन गर्ने निर्णय समेत गरेको जनाएको छ।
बैठकपछि जारी निर्णयमा डा. बाबुराम भट्टराईले अब कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा वैकल्पिक तथा रुपान्तरणकारी राजनीतिलाई सहयोग गर्ने जानकारी पार्टीलाई गराएको उल्लेख गरिएको छ। प्रलोपाले उनको उक्त व्यक्तिगत निर्णयलाई “उच्च सम्मान” गर्दै शुभकामना व्यक्त गरेको छ।
त्यसैगरी अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले पनि पार्टी सदस्यसमेत नरहने गरी सार्वजनिक वक्तव्य दिएको उल्लेख गर्दै प्रलोपाले उनको आगामी व्यक्तिगत तथा राजनीतिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिएको छ।
बैठकले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विषयमा आत्मालोचना गरेको छ। सांगठनिक कमजोरी, पार्टी निर्माणको छोटो अवधि, आर्थिक अभाव, उम्मेदवारी फिर्ता तथा अन्य दलसँग गरिएको तालमेलका कारण अपेक्षित सफलता प्राप्त गर्न नसकिएको निष्कर्ष निकालिएको छ।
प्रलोपाले आफूलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको शक्तिका रूपमा स्थापित गर्ने निर्णयसमेत गरेको छ। समाजवादी उद्देश्य बोकेका नयाँ दल, समूह र व्यक्तिसँग संवाद, सहकार्य, ध्रुवीकरण र एकताको नीति लिने निर्णय बैठकले गरेको जनाएको छ।
बैठकले पार्टीको पहिलो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्न केन्द्रीय महाधिवेशन सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ। साथै स्थानीय तहदेखि प्रदेशसम्म संगठन विस्तार, प्रशिक्षण, उत्पादनमूलक कार्यक्रम तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिका कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ।
यसैबीच बैठकले सुकुम्बासीमाथि भइरहेको “अन्यायपूर्ण र अमानवीय व्यवहार” को भर्त्सना गर्दै सुकुम्बासी समस्याको न्यायोचित समाधान गर्न सरकारसँग माग गरेको छ।