काठमाडौ बैशाख २८
नेकपा (एमाले)का नेता एबम पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत वैचारिक बहसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। लेखक तथा विश्लेषक झलक सुवेदीको लेखमाथि प्रतिक्रिया दिँदै उनले मार्क्सवादको वर्गीय विश्लेषण आज पनि सान्दर्भिक रहेको स्वीकार गरे पनि अहिलेको राजनीतिक संकट केवल सैद्धान्तिक बहसले मात्र समाधान नहुने बताएका हुन्।
पाण्डेले कतारमा श्रम बेचिरहेका आप्रवासी श्रमिकदेखि काठमाडौंमा विदेशी कम्पनीका लागि काम गर्ने युवासम्म सबै शोषणको संरचनाभित्र रहेको उल्लेख गर्दै मार्क्सवादले त्यो यथार्थ बुझ्न सक्ने तर्क गरेका छन्। तर, उनले मुख्य समस्या विचारधाराभन्दा पनि राजनीतिक र सांगठनिक रहेको बताएका छन्।
उनले प्रश्न उठाएका छन्, “यदि लाखौँ असुरक्षित र भविष्यप्रति अन्योलमा रहेका नेपाली वास्तवमै वामपन्थी शक्तिको सामाजिक आधार थिए भने, उनीहरू आज किन भावनात्मक रूपमा टाढिँदै छन्?” उनका अनुसार समस्या विचारधारामा नभई जनतासँग संवाद गर्ने शैलीमा आएको विच्छेदमा रहेको छ।
पाण्डेले आजका युवाको जीवनशैली र आकांक्षालाई राजनीतिक रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गरेका छन्। कतारमा बसेर फेसबुक स्क्रोल गर्दै नेपालको राजनीति हेर्ने युवा, काठमाडौंमा फुड डेलिभरी गर्ने श्रमिक र रिमोट जबमार्फत विश्वसँग जोडिएको मध्यमवर्गीय पुस्तालाई उदाहरण दिँदै उनले पार्टीको भाषा, संगठन र राजनीतिक शैली अझै पुरानै संरचनामा सीमित रहेको टिप्पणी गरेका छन्।
उनले “मोबाइल डेमोक्रेसी” को अवधारणा अघि सार्दै डिजिटल युगमा चेतना निर्माण र राजनीतिक संगठनको स्वरूप बदलिएको बताएका छन्। “मैले मोबाइल डेमोक्रेसीको कुरा उठाउँदा मार्क्सवाद विस्थापित गर्न खोजेको होइन,” उनले लेखेका छन्, “बरु आजको समाज कसरी संगठित हुन्छ र राजनीति कसरी फैलिन्छ भन्ने नयाँ यथार्थ बुझ्न खोजेको हो।”
पाण्डेले केवल “मार्क्सवाद ठीक छ, पढ” भन्ने उत्तरले वर्तमान राजनीतिक संकट समाधान नहुने उल्लेख गर्दै सैद्धान्तिक स्पष्टतासँगै सांगठनिक र राजनीतिक कल्पनाशीलताको आवश्यकता औंल्याएका छन्। उनले सिद्धान्तलाई वर्तमान जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै बहसलाई पार्टी र सार्वजनिक फोरममा अगाडि बढाउने बताएका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।