काठमाडौं, वैशाख ३०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको जनाएको छ।
सिआइबीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति प्राप्त “स्मार्ट टेलिकम प्रा.लि.” ले नियमानुसार अनुमति पत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ अनुसार कम्पनीको अनुमति स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीसँग सम्बन्धित सम्पत्ति, पूर्वाधार, संरचना तथा दूरसञ्चार प्रणाली नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार उक्त सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियामा संलग्न लोन  रिकभरी कमिटी  (LRC) का अध्यक्षको हैसियतमा रहेका पाण्डेले सरकारको सम्पत्तिमा गैरकानुनी ढंगले हक हटाउने उद्देश्यले कार्य गरेको आरोप लागेको छ।
काठमाडौं महानगरपालिका–१८ घर भई हाल ललितपुर महानगरपालिका–५ मा बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेलाई सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ स्थित मदनभण्डारी राजमार्गबाट सोमबार राति करिब १० बजे पक्राउ गरिएको सिआइबीले जनाएको छ। पक्राउका क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले पनि सहयोग गरेको थियो।
प्रहरीका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनामा दूरसञ्चार सेवासम्बन्धी उपकरण जडान भएका घर–जग्गा धनीहरूले बुझाउनुपर्ने बाँकी घरभाडा र विद्युत महसुलसमेत जोडेर करिब ४० करोड रुपैयाँ बराबरको रकम बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको थियो।
तर सो रकम हालसम्म सम्बन्धित घरधनीलाई घरभाडा तथा विद्युत महसुल वापत भुक्तानी नगरी राखिएको भन्दै प्रहरी अनुसन्धान अघि बढाइएको जनाएको छ। यस घटनामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।