काठमाडौ बैशाख २९

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी समुहका नेता  पुष्पकमल दाहालले संसद्मा दिएको लामो सम्बोधन गर्दै आफूले सत्ता, संघर्ष र पराजयको अनुभवबाट सिकेको भन्दै वर्तमान सरकारलाई अहंकारबाट जोगिन चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै प्रचण्डले जनताले दिएको विशाल जनमतलाई जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। उनले आफ्नो पार्टी विगतमा शक्तिशाली अवस्थामा हुँदा भएका कमजोरीतर्फ संकेत गर्दै भने, “हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ ।”
उनले अहिलेको सरकारलाई लक्षित गर्दै संख्याको दम्भमा लोकतान्त्रिक विधि मिच्न खोजिएको आरोप लगाए। संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति, आलोचक पत्रकार तथा युट्युबरमाथिको धरपकड र सम्पत्ति विवरणबारे उठेका प्रश्नबाट सरकार पन्छिन खोजेको उनको आरोप थियो।
प्रचण्डले सुकुम्वासी बस्ती हटाउने कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि जनाए। गरीब जनतालाई उठिबास लगाएर विकास सम्भव नहुने उल्लेख गर्दै उनले राज्यले कमजोर वर्गको सहारा बन्नुपर्ने धारणा राखे। “भुइँमा न भाडामा हुँदा के हुन्छ, त्यो मबाट सिक्नुस,” भन्ने भावमा उनले आफ्नै राजनीतिक यात्राको उदाहरण प्रस्तुत गर्दै जनताबाट टाढिने शासक अन्ततः संकटमा पर्ने चेतावनी दिए।
उनले संविधान संशोधन, सामाजिक न्याय, ट्रेड युनियन अधिकार, विद्यार्थी आन्दोलन र प्रेस स्वतन्त्रताको विषयमा पनि सरकारलाई संयम अपनाउन आग्रह गरे। संविधान संशोधन राष्ट्रिय एकता, आत्मनिर्णयको अधिकार र लोकतन्त्रलाई अझ बलियो बनाउने दिशामा हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै,बालेन नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा दलित, मधेशी, जनजाति, सुकुम्वासी र पिछडिएका वर्गका मुद्दा ओझेलमा परेको टिप्पणी गर्दै उनले सरकार “डिजिटलाइजेसनमा केन्द्रित भए पनि सामाजिक न्यायमा कमजोर” देखिएको आरोप लगाए।