काठमाडौं, जेठ २४ , विभिन्न राजनीतिक दल तथा सामाजिक संगठनमा आबद्ध वामपन्थी, लोकतन्त्रवादी, समाजवादी तथा पहिचानवादी युवाहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य र भावी नेतृत्व निर्माणका विषयमा केन्द्रित साझा अभियान थालनी गर्न अह्वान  गरेका छन्।
‎आगामी असार ४ गते काठमाडौंमा वृहत् छलफल कार्यक्रम आयोजना गर्ने घोषणा गर्दै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र प्रगतिशील परिवर्तनप्रति प्रतिबद्ध सबै युवाहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
‎आइतबार जारी संयुक्त वक्तव्यमा विगतका राजनीतिक नेतृत्वले राष्ट्र निर्माण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा स्थापित गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, बदलिँदो समयअनुसार सक्षम, जनउत्तरदायी, दूरदर्शी र नैतिक नेतृत्वको विकास अपरिहार्य भएको निष्कर्ष निकालिएको छ।
‎अभियानले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक न्याय, सुशासन, राष्ट्रियता तथा नागरिक अधिकारको संरक्षणलाई आफ्नो प्राथमिक एजेण्डा बनाएको जनाएको छ। साथै, सरकारका गतिविधिमाथि नागरिक निगरानी बढाउने, जनसहभागिता विस्तार गर्ने र लोकतान्त्रिक मूल्यविपरीत हुने गतिविधिविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
‎संयुक्त वक्तव्यमा उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र, भाषा, लिङ्ग तथा आम नागरिकका हकहित सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणका लागि साझा अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ

‎वक्तव्यमा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रबक्ता  लक्ष्मी गुरुङ,आम जनता पार्टीका  तिलक थापा मगर, नेकपा माओवादीका युवा नेता चन्द्र खड्का ‘असल’, अधिवक्ता रत्नेश्वर प्रसाद शर्मा, प्रकाश शाही, लोकगायक तिलक परियार,नागरिक उन्मुक्ति पार्टी नेपालका  जिवछ यादव र  प्रोसिद चौधरी तथा लेखक–पत्रकार मनऋषि धिताललगायतका व्यक्तित्वहरूको हस्ताक्षर रहेको छ।