काठमाडौं असार ४
नेपाल कम्युनिस्ट पार्टी माओवादीभित्र गम्भीर धक्का लागेको छ। पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख तथा संगठनात्मक महाधिवेशन आयोजक समिति सदस्य भेषराज भुसालले आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा भुसालले पार्टी नेतृत्व, कार्यदिशा र संगठन सञ्चालन शैलीप्रति गम्भीर असहमति जनाउँदै जिम्मेवारी त्यागेको जानकारी दिएका हुन्।
भुसालले महासचिव विप्लवले प्रत्येक केन्द्रीय समिति बैठकमा “पार्टीको राजनीतिक कार्यदिशाबाट क्रान्ति सम्भव छैन भन्ने लाग्ने कमरेडहरूले जिम्मेवारीबाट मुक्त हुनुपर्छ” भन्ने धारणा राख्दै आएको उल्लेख गर्दै आफू पनि त्यही निष्कर्षमा पुगेको बताएका छन्।
उनले आफ्नो वक्तव्यमा १२ वर्षसम्म पार्टीमा निशर्त रूपमा काम गरेको, पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालेको तथा पार्टी र क्रान्तिको हितबाहेक अरू केही नसोचेको दाबी गरेका छन्। तर, पार्टी खुम्चिँदै गएको, जनाधार कमजोर बन्दै गएको र त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने मागलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाएका छन्।
भुसालले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा साम्राज्यवादविरुद्ध कम्युनिस्ट तथा देशभक्त शक्तिहरूबीच एकता र संयुक्त मोर्चा आवश्यक रहेको उल्लेख गर्दै महासचिव स्वयंले अघि सारेको नीतिबाट पछि हटेको आरोपसमेत लगाएका छन्। यस्ता विषयमा बहस गर्न खोज्ने नेताहरूलाई पार्टीको विधान, नीति र विधि मिचेर निष्कासन गरिएको उनको भनाइ छ।
“अब तपाईंको नेतृत्वमा क्रान्ति सम्भव छैन,” भन्दै भुसालले महासचिव विप्लवलाई सम्बोधन गरेका छन्। उनले संगठनात्मक महाधिवेशन आयोजक समिति सदस्य, केन्द्रीय स्कुल विभाग प्रमुखलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन्।
यद्यपि, उनले राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलनबाट भने अलग नहुने स्पष्ट पारेका छन्। भविष्यमा पनि त्यस्ता आन्दोलनहरूमा पुनः सहकार्य हुन सक्ने अपेक्षा व्यक्त गरेका छन्।
भेषराज भुसाल पार्टीभित्र वैचारिक प्रशिक्षण र राजनीतिक शिक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका नेता मानिन्छन्। स्कुल विभाग प्रमुखकै जिम्मेवारीमा रहेका नेताले नेतृत्वप्रति सार्वजनिक रूपमा अविश्वास व्यक्त गर्दै पद त्याग गरेपछि विप्लव नेतृत्वको पार्टीभित्रको आन्तरिक बहस र असन्तुष्टि थप उजागर भएको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन
तपाईं पहिलो प्रतिक्रिया दिने पाठक बन्न सक्नुहुन्छ।