
काठमाडौ फागुन २५-
देशले तपाईंको स्वविवेकिय क्षमताको आवरण र प्रायोजित शक्तिको आडमा १० बर्ष लामो गृहयुद्ध जनयुद्धको नाममा झेल्यो । १७ हजार होनहार योद्धाहरुले सुनौलो नेपालको सपनामा आफुलाई समर्पण गरे । देशले बाधक भन्ठानेको राजतन्त्रको अन्त्यसंगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो ।
तर त्यो प्रक्रियासंगै अमृत भनेर रोपिएको बिषबृक्ष झ्याङ्गिन, फैलिन र फल दिन खासै लामो समय लागेन । आखै अगाडि योद्धाहरुको तात्तातो बलिदान र आफै पनि राज्यको गोलिको स्वाद चाखेको कारण पनि तपाइँको कथित परिवर्तनलाई साथ दिन शक्तिखोरको सालघारी जङ्गलमा आधा दशक अघोषित बन्दी जीवन यापन गरेको कारण होला वृक्ष उम्रन, हुर्कन, बढ्न र फल दिन समय लाग्छ भन्ने लागेको थियो । फुर्सदमा सालघारीमा बसेर सजाएको सपना उतिसघारिमा पसेर कसरी पूरा हुन्थ्यो र !
आँखा अगाडिका अनेकौं अपराधकर्म र प्रश्न माथिको प्रतिबन्ध विरुद्ध उभिदा ‘रामहरि श्रेष्ठ’ घटना सम्झाएर प्रेमपुर्वक खाल्डो भर्ने मायादेखि पालुङटार बिस्तारित बैठकमा प्रस्तुत तिनै प्रतिवेदन विरुद्ध मत जाहेर गर्दा मध्यरात केही अति ‘अ’ राजनीतिक तत्वले देखाएको कमरेडली भावनाले सम्झदा कहिले काहीं अझै तर्साउछ । त्यो भन्दा पनि अझ चरम पार्टी अन्तरसंघर्षको क्रममा क.लालध्वज, क.राहुल लगायत अन्य नेताहरु माथिको कार्वाहीकाबारे पाल्पा प्रशिक्षणको क्रममा आदरणीय पोष्ट बहादुर बोगटीलाई आफ्नै शैलीमा सोधिएको लिखीत दर्जन बेनामी प्रश्न मध्ये धेरै प्रश्नको सैद्धान्तिक र राजनैतिक अनि केही प्रश्नको फरक कोणबाट आएको जवाफले प्रशिक्षण पछि फर्कने क्रममा भएको तत्कालीन शाही सेनाको हवाई आक्रमण भन्दा ज्यादा डर थियो, कि प्रश्नकर्ताको पहिचान खुल्यो भने !?
पार्टी आन्दोलन र योद्धाहरुको बलिदान प्रती आफ्नै ढंगले समर्पित गर्ने प्रयत्नमा प्रश्न सहित इमान्दार रहने प्रयास गरियो । सुन्दर जनयुद्धको अर्को पाटोको वास्तविक कथा ‘सायदै’ लेखिएला ।
महान उपलब्धि भनिएको संविधानमाथी गरिएको हिंसात्मक आक्रमणहरु सम्झन लायक छ । जनयुद्ध अन्त्यको घोषणा, संविधान निर्माण र स्थापित सवै राजनीतिक अराजनीतिक मानकहरु विरुद्ध १० बर्षमै नागरिकले बिद्रोह गरे । जुन बिद्रोह माओवादी बिद्रोह भन्दा भयानक थियो र त्यसले स्थापित गरेका सम्पूर्ण मानकहरु ध्वस्त भए । संविधान कोमामा गयो, संसद भङ्ग भो, सिंहदरबार सहित सिङ्गो देश खरानी भो । ब्यापारीक प्रतिष्ठानमा मान्छे हुलेर बाहिरबाट आगो लगाइयो । यो नरसंहार र विध्वंस ०६३ जेष्ठ १५ गते रोपिएको थियो । मलजल सबैले मेहनतका साथ गरे । यति भैसकेपछी बर्तमान सन्दर्भमा सबैभन्दा अनुपयुक्त पात्र हुनुहुन्छ क. प्रचण्ड ।
प्रिय पुष्पकमल दाहाल ज्यू, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणासंगै देशमा जसरी राजतन्त्रको अर्थ औचित्य र सान्दर्भिकता सक्कियो त्यसै गरि ‘जनयुद्ध’ भन्दा भयानक र ध्वंसात्मक बिद्रोह पछि तपाईंको कुनै अर्थ, औचित्य र सान्दर्भिकता छैन । तर चरम आत्मसुरक्षावाद र सत्तालोलुपताका कारण सुरक्षीत क्षेत्रबाट तपाईं चुनाव लड्नु भो र निर्वाचित हुनु भो ‘दुधमा डुबेको झिंगा’ जस्तै ! यो इतिहासकै सबैभन्दा बिडम्बनापूर्ण बिरुप क्षण हो । राजनीतिशास्त्रमा चासो राख्नेहरुले यो दुर्घटनालाई पक्कै आगामी पुस्तामा हस्तान्तरण गर्ने छ । तपाईंको सबै राजनीतिक अराजनीतिक यात्रालाई शुभकामना ! तपाईंसंगै सबै चिज नसक्कियोस ।
समानुपातिकमा मतदान गर्ने पार्टी र चिन्ह समेत नपाएको अति पल्लो छेउको अराजक शुभचिन्तकको चाहाना !
