रोल्पा ,
रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१, जलजला क्षेत्रमा भएको भयावह जिप दुर्घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एबम पुर्ब गृह मन्त्री जनार्दन शर्मा ले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रोल्पा जिल्ला मा भएको उक्त दुर्घटनाले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्। रुकुम पूर्व बाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८०० मिटर तल भिरमा खस्दा कम्तीमा १७ जनाले ज्यान गुमाएको प्रारम्भिक जानकारी आएको उनले जनाएका छन्।

दुर्गम भौगोलिक अवस्था र कठिन भिरका कारण उद्धार कार्यमा चुनौती देखिए पनि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको सक्रियतामा खोज तथा उद्धार कार्य जारी रहेकोमा उनले ध्यानाकर्षण गराएका छन्।
शर्माले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उपचार र उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उनले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
साथै, पहाडी भेगका सडकहरूको जीर्ण अवस्था र सवारी सुरक्षामा कमजोरीकै कारण यस्ता दुर्घटना दोहोरिने गरेको उल्लेख गर्दै आगामी दिनमा सडक स्तरोन्नति र यातायात नियमनमा कडाइ गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
विपत्तिको यस घडीमा धैर्य धारण गर्न र पीडित परिवारलाई आवश्यक सहयोग गर्नसमेत उनले सबैमा अपिल गरेका छन्।
