काठमाडौं फागुन २६,
भारतीय माओवादी आन्दोलनका शीर्ष नेतापुर्ब महासचिव ‘गणपति’ अर्थात् मुप्पाला लक्ष्मण राव नेपालमा पक्राउ परेको भन्ने खबर भारतीय मिडियाहरूमा केहि दिन यता चर्चा भैरहेको छ।तर यो विषयमा भारत वा नेपालका सरकारी निकायबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतका सुरक्षा निकायले लामो समयदेखि खोजिरहेका माओवादी नेता गणपति नेपालमा लुकेर बसेको आशंका गर्दै निगरानी गरिरहेका थिए। पछिल्ला दिनमा केही भारतीय पत्रपत्रिकाले उनलाई नेपालबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन्।
भारतीय पत्रिका “द विक” का अनुसार तेलुगु भाषाको एक पत्रिकाले गणपति नेपालमा पक्राउ परेको दाबी गरेको छ। सो रिपोर्टमा तेलंगाना प्रहरीले उनलाई नियन्त्रणमा लिएको र छिट्टै सार्वजनिक गर्न सकिने उल्लेख गरिएको बताइएको छ।
तर “टाइम्स अफ इन्डिया” का अनुसार गणपति अझै फरार सूचीमै रहेका छन् र उनको वास्तविक अवस्थाबारे सुरक्षा निकायले स्पष्ट जानकारी सार्वजनिक गरेका छैनन्। उक्त मिडियाका अनुसार पछिल्ला वर्षहरूमा गणपति सार्वजनिक रूपमा कतै देखिएका छैनन् र उनको खोजी अझै जारी छ।
त्यस्तै भारतीय मिडिया “न्यू इन्डियन एक्सप्रेस” का अनुसार गणपतिका परिवारका सदस्यहरूले समेत उनलाई मुख्यधारमा फर्किन र आत्मसमर्पण गर्न आग्रह गरिरहेका छन्। सो मिडियाले भारतमा माओवादी आन्दोलन कमजोर बन्दै गइरहेका बेला गणपति आत्मसमर्पण गर्न सक्ने चर्चा पनि भइरहेको उल्लेख गरेको छ।
भारतीय विश्लेषणात्मक पत्रिका “द विक” ले जनाए अनुसार गणपति भारतीय माओवादी आन्दोलनका सबैभन्दा प्रभावशाली नेतामध्ये एक मानिन्छन्। सन् २००४ मा विभिन्न नक्सलवादी संगठनहरू एकीकृत भएर बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का उनी लामो समय (२००४–२०१८) महासचिव थिए।
भारतीय मिडियाहरूका अनुसार गणपति अहिले ७० वर्षभन्दा बढी उमेरका भइसकेका छन्। केही रिपोर्टमा उनको स्वास्थ्य अवस्था पनि कमजोर भएको उल्लेख गरिएको छ। यही कारणले पछिल्ला वर्षहरूमा उनी सक्रिय राजनीतिक गतिविधिबाट टाढा रहेको बताइन्छ।
यदि गणपति वास्तवमै नेपालबाट पक्राउ परेको पुष्टि भयो भने यसले नेपाल–भारत सम्बन्धमा नयाँ सुरक्षा बहस जन्माउन सक्छ। नेपालमा विदेशी विद्रोही समूहका नेताहरू लुकेर बसेका छन् कि छैनन् भन्ने प्रश्न पनि उठ्न सक्छ।
नेपाल र भारतबीच खुला सीमा रहेको सन्दर्भमा सुरक्षा सहकार्यको विषय सधैं संवेदनशील रहँदै आएको छ। भारतीय माओवादी आन्दोलनसँग सम्बन्धित केही कार्यकर्ताहरू विगतमा पनि नेपालमा आश्रय लिएको आरोप समय–समयमा उठ्दै आएको थियो।
यसबारे झिल्कोप्रेस ले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग यसबारे जानकारी माग्दा उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्। काफ्लेले भने, “मलाई यसबारे कुनै जानकारी छैन, तपाईंबाटै पहिलो पटक सुन्दै छु।”
अहिलेसम्म उपलब्ध सूचनालाई हेर्दा गणपति पक्राउ परेको भन्ने समाचार भारतीय मिडियामा व्यापक रूपमा फैलिएको भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। त्यसैले अहिलेको अवस्थामा यो समाचारलाई अपुष्ट सूचनाका रूपमा नै हेरिएको छ।भारतमा सरकारले माओवादी सफाय अभियान चलाइरहेको छ।महासचिव बस्पराजु लगायत शिर्ष नेता मारिएका छन् भने नयाँ महासचिव देबजिले आत्मसमर्पण गरिसकेका छन् ।