एजेन्सी चैत्र १,
बिबिसी हिन्दीका अनुसार इरानका विदेशमन्त्री अबास अराघचिले नयाँ सर्वोच्च नेता मोजतबा खामोनेइ “पूर्ण रूपमा स्वस्थ” रहेको दाबी गरेका छन्।
अराघचीले मिडिया समूह अलारबी अलजदिदलाई दिएको अन्तर्वार्तामा भने, “मोजतबा खामेनेई पूर्ण रूपमा स्वस्थ छन् र परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छन्।”यस अघि सर्बोच्च नेता घाइते भएको समाचारहरु पश्चिमा मिडियाबाट प्रसारण भैरहेको थियो।
युद्ध अन्त्यबारे बोल्दै अराघचीले भने, “हामी युद्धलाई न्यायपूर्ण तरिकाले अन्त्य गर्ने क्षेत्रीय पहलको स्वागत गर्छौं। तर हालसम्म युद्ध समाप्त गर्न कुनै ठोस पहल भने अगाडि आएको छैन।”
साथै उनले स्ट्रीट अफ होर्मुजको प्रसङ्ग उठाउँदै भने, “यो समुद्री मार्ग सबैका लागि खुला छ, तर अमेरिका र उसका सहयोगीहरूका लागि भने खुला छैन।”
उल्लेखनीय छ कि ८ मार्चमा मोजतबा खामेनेईलाई इरानको सर्वोच्च नेता नियुक्त गरिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।
उनको पहिलो सार्वजनिक सन्देश १२ मार्चमा सरकारी मिडियामार्फत प्रसारण गरिएको थियो, जसलाई एक प्रस्तोताले पढेर सुनाएका थिए।