काठमाडौ चैत्र १,
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च सरकारले व्यहोरेको विषयलाई लिएर नेपाली सेनाका अवकाशप्राप्त जर्नेल प्रेमसिङ बस्नेतले खुला उजुरी दिएका छन्।
काठमाडौँको बुढानिलकण्ठ–८ निवासी बस्न्यातले ‘बन्दै गरेको जेन–जीका नामको सरकार’ भन्दै सम्बोधन गरिएको उजुरीमा उक्त निर्णय उल्ट्याउन माग गरेका हुन्। उनले सम्बोधनमा स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई पनि उल्लेख गरेका छन्।
उजुरीमा बस्न्यातले राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदा लागेको करिब ५५ लाख रुपैयाँ खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको समाचार उल्लेख गरेका छन्। उक्त रकम भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले र अर्थमन्त्रालयलाई पत्राचार गरेको विषय पनि उनले उठाएका छन्।
बस्न्यातले उजुरीमा लेखेका छन् कि राष्ट्रपति पौडेलले उपचार खर्च आफैंले व्यहोर्ने इच्छा व्यक्त गरेको भन्ने समाचार सार्वजनिक भए पनि सरकारबाट रकम भुक्तानीको प्रक्रिया अघि बढाइएको छ। यस्तो अवस्थामा सरकारले किन र कसरी माफी दिन सक्छ भन्ने प्रश्न उनले उठाएका छन्।
उनका अनुसार यदि कुनै साधारण नागरिकले यस्तै कार्य गरेको भए यस्तो छुट नपाउने थियो। उनले यसलाई “अक्षम्य अपराध” भन्दै सम्बन्धित निर्णय उल्ट्याई जिम्मेवार व्यक्तिमाथि कारबाही सुरु गर्न माग गरेका छन्।
बस्न्यातले आगामी दिनमा नयाँ सरकार बनेपछि यस विषयमा पुनः छानबिन गरी देशवासीलाई सुशासनको अनुभूति गराउने अपेक्षा व्यक्त गरेका छन्।