कोलकाता, भारत बैशाख १०

भारतीय सञ्चार माध्यमहरुका   अनुसार पश्चिम बंगाल विधानसभा चुनाव २०२६ अन्तर्गत मतदान भइरहेका बेला विभिन्न स्थानमा हिंसाका घटना सार्वजनिक भएका छन्। विशेषगरी दक्षिण दिनाजपुर जिल्लाको कुमारगंज क्षेत्रमा भाजपा उम्मेदवारमाथि भएको आक्रमणले चुनावी वातावरण तनावपूर्ण बनेको छ।
कुमारगंज क्षेत्रबाट उम्मेदवार रहेका शुभेन्दु सरकार  बुथ कब्जा (बुथ जाम) को विरोध गर्न मतदान केन्द्र पुगेका थिए। त्यही क्रममा उनीमाथि त्रिणमुल काङ्ग्रेस  (टीएमसी) का कार्यकर्ताहरूले आक्रमण गरेका हुन्। प्रत्यक्षदर्शीहरूका अनुसार उनलाई लखेट्दै कुटपिट गरिएको थियो।
घटनापछि सरकारले आफू ज्यान जोगाउन खेततर्फ भाग्नुपरेको बताएका छन्। उनका अनुसार ८–१० मतदान केन्द्रमा उनका एजेन्टहरूलाई जबरजस्ती हटाइएको थियो, जसको विरोध गर्न जाँदा आक्रमण भएको हो। उनले आफू घाइते भएको र आफ्नो गाडीमा समेत तोडफोड गरिएको दाबी गरेका छन्। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यस क्षेत्रमा टीएमसीका तोराफ हुसैन मण्डल, सीपीआई(एम)का मोफज्जल हुसैन र कांग्रेसका गुलाम मुर्तुजा मण्डल पनि चुनावी प्रतिस्पर्धामा छन्।
यसैबीच, आसनसोल क्षेत्रमा पनि अर्को हिंसात्मक घटना भएको छ। भाजपा नेतृ अग्निमित्रा पालको काफिलामाथि ढुंगा प्रहार गरिएको बताइएको छ। आक्रमणका कारण गाडीको पछाडिको सिसा फुटेको छ, तर मानवीय क्षतिको पुष्टि भने भएको छैन।