काठमाडौं/एजेन्सी बैशाख १२
भारतीय सञ्चार माध्यम नबभारत टाइम्सका अनुसार संयुक्त राज्य अमेरिकाले चीन विरुद्ध ठूलो आर्थिक कदम चाल्दै एक प्रमुख चिनियाँ तेल रिफाइनरी तथा करिब ४० शिपिङ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। इरानी तेल खरिद गरेको आरोपमा यो कारबाही गरिएको हो।
डोनाल्ड ट्रम्प प्रशासनले उक्त कदम इरानको मुख्य आम्दानी स्रोत—तेल निर्यात—लाई रोक्ने रणनीतिक प्रयासको रूपमा व्याख्या गरेको छ।
अमेरिकी वित्त मन्त्रालयका अनुसार, चीनको डालियानमा अवस्थित हेंगली पेट्रोकेमिकल रिफाइनरीलाई मुख्य रूपमा लक्षित गरिएको हो। दैनिक करिब ४ लाख ब्यारेल कच्चा तेल प्रशोधन क्षमता रहेको यो रिफाइनरी चीनकै ठूला स्वतन्त्र रिफाइनरीमध्ये एक हो।
अमेरिकाले सन् २०२३ देखि उक्त कम्पनीले इरानबाट तेल खरिद गर्दै आएको आरोप लगाएको छ।
यसैसँगै, अमेरिकाले करिब ४० वटा शिपिङ कम्पनी र जहाजमाथि पनि प्रतिबन्ध लगाएको छ। ती जहाजहरू “शैडो फ्लीट” का रूपमा परिचालित हुँदै प्रतिबन्ध छल्न प्रयोग भइरहेको आरोप छ।
यो प्रतिबन्ध त्यतिबेला आएको हो, निकट भविष्यमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ रास्ट्रपति सिजिङ पिङबीच भेटवार्ता हुने तयारी भइरहेको छ। यसले दुई शक्तिशाली राष्ट्रबीचको आर्थिक तथा कूटनीतिक तनाव थप चर्किने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय तथ्यांकअनुसार, चीनले इरानबाट निर्यात हुने तेलको ८० प्रतिशतभन्दा बढी हिस्सा खरिद गर्दै आएको छ। विशेषज्ञहरूका अनुसार, यदि चीनका बैंक तथा वित्तीय प्रणालीलाई पनि लक्षित गरियो भने यसको प्रभाव अझ गम्भीर हुन सक्छ।
