काठमाडौं बैशाख १०
नेकपा( एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि गरिब र सुकुम्बासीविरोधी नीति लिएको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत बस्नेतले सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयले “सरकारको वास्तविक चरित्र उजागर भएको” बताएका हुन्।
बस्नेतले प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाएर “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर” भन्ने निर्देशन दिएको समाचारहरु बाहिरिए पछि यसलाई जनविरोधी कदमको रूपमा चित्रण गरेका छन्। उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर आए आफू छाती थापेर उभिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले त्यो प्रतिबद्धता कहाँ हरायो भन्ने प्रश्न उठाएका छन्।
उनले सरकारको कदमलाई केवल बस्ती हटाउने अभियान नभई गरिब समुदायमाथिको प्रत्यक्ष आक्रमण भएको टिप्पणी गरेका छन्। “सुकुम्बासीलाई लखेट्ने कि व्यवस्थित गर्ने? गरिबी हटाउने कि गरिबलाई नै समाप्त पार्ने?” भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बस्नेतले सडक चौडा बनाउने, फुटपाथ सफा गर्ने र भन्सार कडाइका नाममा साना व्यवसायी र विपन्न वर्गमाथि दबाब बढाइएको आरोप पनि लगाएका छन्। उनका अनुसार विकासको नाममा भइरहेको यस्ता गतिविधिले राज्यले कमजोर वर्गलाई संरक्षण गर्नुको सट्टा थप पीडित बनाइरहेको सन्देश दिएको छ।
यस्तै विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता निर्णयले सरकार लोकतान्त्रिक संस्कारभन्दा अधिनायकवादी शैलीतर्फ उन्मुख भएको उनको आरोप छ। बस्नेतले जनताको धैर्यको पनि सीमा हुने भन्दै यस्ता निर्णयले सरकार जनताको मनबाट चाँडै बाहिरिने चेतावनी दिएका छन्।
