काठमाडौं, जेठ २९  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
असार २९ गते जारी खुला पत्रमा राईले प्रतिनिधिसभाको असार १७ गते बसेको बैठकमा प्रधानमन्त्री बालकृष्ण शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गरेका छन्।


उक्त अभिव्यक्तिका सन्दर्भमा रास्वपाको धारणा के हो भन्ने विषयमा जिज्ञासा राख्दै राईले सार्वजनिक रूपमा स्पष्ट पार्न अनुरोध गरेका छन्। उनले पत्रमा लेखेका छन्, “प्रधानमन्त्रीको उक्त भनाइप्रति तपाईंको पार्टीको आधिकारिक धारणा के छ, सो सार्वजनिक गरिदिनुहुन यो खुला पत्रमार्फत अनुरोध गर्दछु।”
राईले राष्ट्रिय सार्वभौमसत्ता, सीमा तथा भू–राजनीतिक विषयमा राजनीतिक दलहरूको स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गर्दै जनतासमक्ष आफ्नो दृष्टिकोण राख्न रास्वपालाई आग्रह गरेका छन्।