ललितपुर जेठ  १२

कुनै समय नेपालको वामपंथी राजनीतिमा शक्तिशाली नेताका रूपमा चिनिने बामदेब गौतम अहिले सामान्य नागरिकझैँ बाटोमा अलमलिएको दृश्यमा भेटिएका छन्। सामाजिक सञ्जालमा लेखक मिलन तिमिल्सिनाले पोष्ट गरेको एक सामाग्रीले अहिले सामाजिक संजाल तातेको छ। जसले सत्ता, शक्ति र समयको बदलिँदो यथार्थलाई उजागर गरेको छ।
तिमिल्सिनाका अनुसार बाटोमा हिँड्दै गर्दा उनले पर एक जना व्यक्तिलाई देखे, जो हेर्दा बामदेव गौतमजस्तै लागेका थिए। नजिक पुगेर हेर्दा उनी साँच्चै बामदेव नै रहेछन्। भेटपछि गौतमले आफू पुष्पकमल दाहाललाई भेट्न आएको तर डेरा नचिनेको बताए।
“अहिले भेट्ने भनेर बोलाउनुभएको थियो, फोन पनि कसैले उठाउँदैनन्, आफूले पनि डेरा चिनेको छैन,” गौतमले भनेको प्रसंग सामाजिक सञ्जालमा भावुक टिप्पणीसहित साझा गरिएको छ।
यो घटनाले एक समय शक्तिको केन्द्रमा रहेका नेताको वर्तमान अवस्थामाथि धेरैलाई सोच्न बाध्य बनाएको छ। कहिल्यै अगुवापछुवा बिना नहिँड्ने, सुरक्षा घेरामा रहने र राजनीतिक शक्ति तथा प्रभावका केन्द्र मानिने बामदेव आज आफैं बाटो खोज्दै हिँड्नुपर्ने अवस्थामा पुगेको चित्रण गरिएको छ।
लेखकले उक्त प्रसंगपछि आफूलाई लागेको मनोवैज्ञानिक प्रश्न पनि उल्लेख गरेका छन्— “यदि बामदेव पहिलेजस्तै शक्तिमा भएको भए, मैले उहाँलाई यसरी भेट्ने थिएँ त ?”
सामाजिक सञ्जालमा धेरैले यसलाई “समयको चक्र”, “सत्ताको अस्थायी स्वरूप” र “राजनीतिक जीवनको यथार्थ” भन्दै टिप्पणी गरेका छन्। कतिपयले भने नेताहरूले शक्ति हुँदा जनतासँग दूरी बनाउने तर समय फेरिएपछि सामान्य अवस्थाको अनुभव गर्नुपर्ने नियति रहेको बताएका छन्।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय प्रभाव राखेका बामदेव गौतम पछिल्ला वर्षहरूमा सक्रिय सत्ता राजनीतिबाट क्रमशः टाढिँदै गएका छन्। यही पृष्ठभूमिमा सार्वजनिक भएको यो प्रसंगलाई धेरैले नेपाली राजनीतिमा बदलिँदो शक्ति सन्तुलनको प्रतीकात्मक दृश्यका रूपमा हेरेका छन्।

कुनैबेला एमाले भित्र बामदेब गौतम जसको पक्षमा उभियो उसैले पार्टी सत्ता कब्जा गर्थ्यो।एमाले -माओवादी एकतापछि बनेको नेकपामा पनि बामदेब शक्तिशाली नेता थिए।