काठमाडौ असार १
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सचिवालय सदस्य उमा भुजेल  ‘सिलु’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।भुजेल जनयुद्धको बेलामा गोर्खा जेलब्रेकका कमान्डर थिइन् ।
पार्टीका महासचिव विप्लवद्वारा जारी गरिएको सूचनाअनुसार असार १ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठक जेठ ३१ गतेदेखि असार १ गतेसम्म बसेको थियो।


सूचनामा भनिएको छ कि संगठनात्मक विषयमा छलफलका क्रममा सचिवालय सदस्य सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल गरेको भए पनि पार्टीको विचार, नीति र निर्णयविरुद्ध निरन्तर विचलनकारी तथा पतनवादी गतिविधि गरेको निष्कर्ष निकालिएको छ।
त्यसैगरी पार्टी कार्यदिशा, नेतृत्व र जनकारबाहीविरुद्ध भड्काउ गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनलाई केन्द्रीय समिति सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको जनाइएको छ।
बैठकले राजनीतिक, संगठन, संघर्ष र प्रकाशनसम्बन्धी विषयमा समेत विभिन्न महत्वपूर्ण निर्णय गरेको पार्टीले जनाएको छ। महासचिव विप्लव सीको हस्ताक्षरसहित जारी सूचनामा उक्त निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ।