काठमाडौं चैत्र ४
जेन जि बिद्रोह पछि फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सर्वसाधारणले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले उल्लेख गरेका छन्।
भट्टराईले आज फेसबुकमा स्टाटस लेख्दै पार्टी सभापति रवि लामिछाने द्वारा नवनिर्वाचित सांसदहरूलाई दिइएको अभिमुखिकरणलाई सकारात्मक दृष्टिले मूल्याङ्कन गरेका छन्। उनले लेखेका छन् “फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ” भन्ने नेपाली लोकोक्तिलाई रास्वपाको गतिविधिसँग जोडेर हेरिनु उचित हुन्छ।
भट्टराईले थप लेखेका छन्, ´रास्वपाले पाएको मत कुनै एउटा पार्टी वा व्यक्तिलाई मात्र सम्बोधन नगर्ने, बरु नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश रहेको विचार वस्तुपरक छ। त्यसैले पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नुको साटो, ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नु आवश्यक रहेको उनको मत छ।

