काठमाडौं बैशाख ११
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिब खत्रीले मिडियाको भूमिका र “मिसन पत्रकारिता” को विषयलाई लिएर कडा टिप्पणी गरेका छन्। कान्तिपुर मिडिया ग्रुप का प्रबन्ध निर्देशक सम्भव सिरोहिया को राजीनामापछि सामाजिक सञ्जालमा लेख्दै उनले विगतका पत्रकारितामाथि प्रश्न उठाएका हुन्।
खत्रीले आफ्नो स्टाटसमा विगतमा रवि लामिछाने माथि गरिएको समाचार सम्प्रेषण “मिसन पत्रकारिता” थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्। उनले यस्तो विषय सम्भव सिरोहियाको राजीनामा पत्रमा उल्लेख हुन्छ कि हुँदैन भन्ने जिज्ञासा समेत व्यक्त गरेका छन्।
निबर्तमान गृहमन्त्री सुधन गुरुङकाबारेमा लेखिएको समाचारहरु प्रति असहमति जनाउदै सिरोहियाले राजीनामा दिएका थिए।
उनले मिडियामाथि गम्भीर आरोप लगाउँदै लेखेका छन्— मिडियाको आवरणमा ब्ल्याकमेल, धम्की, तथ्य तोडमोड, र पैसाको प्रभावमा समाचार निर्माण हुन सक्ने अवस्था रहेको दाबी गरेका छन्। “यहाँ कालोलाई सेतो बनाउन ‘सम्भव’ छ, रकम बुझाएर चोखिन ‘सम्भव’ छ,” भन्ने वाक्यांश प्रयोग गर्दै उनले संकेतात्मक रूपमा मिडियाको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
आफ्नो धारणा प्रस्ट पार्न खत्रीले एउटा प्रतीकात्मक कथा पनि प्रस्तुत गरेका छन्। उनले अक्टोपस र शंखेकिराको उदाहरण दिँदै “मिसन पत्रकारिता” अन्ततः आफैंमाथि उल्टिने संकेत गरेका छन्। उनका अनुसार, बाहिरबाट कमजोर देखिने तत्वले अन्ततः शक्तिशाली संरचनालाई नै क्षति पुर्याउन सक्छ।
