काठमाडौं, वैशाख२९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदिय दलका नेता रामबहादुर थापा (बादल)ले सरकारको नीति तथा कार्यक्रममाथि गम्भीर प्रश्न उठाउँदै नेपाली सेनाको भूमिकामाथि कडा टिप्पणी गरेका छन् ।
संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले देश संकटमा पर्दा र राष्ट्र प्रमुखको मुख्यालयमाथि हमला हुँदा पनि नेपाली सेना “रहस्यमय ढंगले मूकदर्शक” बनेको आरोप लगाए ।
“देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?” भन्दै बादलले सरकारसँग जवाफ मागे ।
उनले लिपुलेक अतिक्रमणको विषयमा सेना मौन रहेको तर सुकुमवासी बस्तीमा भने सेना परिचालन गरिएको भन्दै विरोध जनाए । “लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुने, तर सुकुमवासी बस्तीमा परेड खेल्ने प्रवृत्ति किन ?” भन्ने प्रश्न समेत उनले उठाए ।
बादलले नीति तथा कार्यक्रमले राष्ट्रियता, सुशासन, लोकतान्त्रिक अधिकार र वैदेशिक हस्तक्षेपजस्ता विषयमा स्पष्ट धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाए । राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरूबारे सरकार मौन रहेको, असंलग्न परराष्ट्र नीतिको खिल्ली उडाइएको तथा प्रतिनिधिसभाभित्र बढ्दो अराजक गतिविधिप्रति पनि सरकार संवेदनशील नदेखिएको उनको भनाइ थियो ।
उनले सरकारको आर्थिक नीतिमाथि पनि प्रश्न उठाउँदै “ऋण लिएर विकास हुँदैन भन्नेहरूले पहिलो बैठकबाटै अर्बौं ऋण किन स्वीकृत गर्छन् ?” भन्दै सरकारको व्यवहारमा विरोधाभास रहेको टिप्पणी गरे ।
