काठमाडौं जेठ ५
पछिल्लो समय डिजिटल भुक्तानी सेवा इसेवा मार्फत साइबर ठगीका घटना बढ्दै गएपछि सेवाग्राहीहरूमा गम्भीर अविश्वास बढ्न थालेको छ। सामाजिक सञ्जाल ह्याक गरेर नक्कली क्युआर पठाई रकम असुल्ने गिरोह सक्रिय भएको भन्दै पीडितहरूले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
केही दिनअघि नुवाकोटका रबिन्द्र नेपाल तुप्चेले आफ्ना साथी ५० हजार रुपैयाँ ठगिएको जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार सामाजिक सञ्जाल ह्याक गरी विश्वास जित्ने शैलीमा इसेवाको क्युआर पठाएर रकम उठाइएको थियो। रकम ट्रान्सफर भएपछि मात्रै आफूहरू ठगिएको थाहा भएको पीडित पक्षले जनाएको छ।

पीडितहरूले प्रहरी तथा इसेवा कार्यालयमा उजुरी दिए पनि हालसम्म ठगीमा संलग्न व्यक्तिसम्म पुग्न नसकिएको गुनासो गरेका छन्। “मोबाइल नम्बर र इसेवा खाता खोल्दा नागरिकता लगायतका विवरण अनिवार्य हुने हो भने राज्यले सजिलै ठगलाई पहिचान गर्न सक्नुपर्छ,” पीडित पक्षको भनाइ छ।
यसैबीच, आज पनि हिमालयन बैंक बट्टार शाखाका कर्मचारी कृष्ण न्यौपानेको मेसेन्जर ह्याक गरी ठगी प्रयास भइरहेको दाबी गरिएको छ। ह्याक गरिएको अकाउन्टबाट क्युआर कोड पठाएर रकम मागिएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।
रबिन्द्र नेपालको पोष्टमा कमेन्ट गर्दै अर्का सामाजिक संजाल प्रयोगकर्ता सेते तामाङले आफ्नो सालोको पनि ३ लाख ठगी गरेकोले साबधानी अपनाउन आग्रह गरेका छन् ।
पीडितहरूले सार्वजनिक गरेको विवरण अनुसार ठगीमा प्रयोग भएका भनिएका नम्बरहरू यस प्रकार छन्:
9744312554 — “Bi******** Raskoti”
9763389702 — “Kumar Nepali, Kharibot”


साइबर अपराध नियन्त्रणमा राज्य संयन्त्र कमजोर देखिएको भन्दै सर्वसाधारणले डिजिटल वालेट सेवामा कडाइ गर्न माग गरेका छन्। “यदि यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएन भने डिजिटल भुक्तानी प्रणालीप्रति जनविश्वास झन् कमजोर हुने खतरा छ,” स्थानीयवासीले बताएका छन्।
सर्वसाधारणले गृह मन्त्रालय, साइबर ब्यूरो तथा नेपाल राष्ट्र बैंकलाई डिजिटल वालेटमार्फत हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
