काठमाडौं, जेठ १७

श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव टिकाराम राईले सरकारले सार्वजनिक गरेको बजेटको आलोचना गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्।
राईले आज बिहान  आफ्नो फेसबुक स्टाटसमा “बालेनमिक्सको विशेषता” शीर्षक राख्दै बजेटले शिक्षा, स्वास्थ्य र विद्युत् सेवालाई महँगो बनाएको आरोप लगाएका छन्। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर तथा नीतिगत व्यवस्थाका कारण आम नागरिकमाथि अतिरिक्त आर्थिक भार पर्ने दाबी गरेका छन्।


उनले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी भन्सार नीतिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। राईका अनुसार ईभीमा गरिएको नीतिगत परिवर्तनले स्वच्छ ऊर्जा र सस्तो यातायाततर्फको यात्रालाई कठिन बनाउनेछ।
“चिन्ताको विषय केवल कर बढ्नु होइन, बजेटको प्राथमिकता र यसको दीर्घकालीन प्रभाव हो,” उनले स्टाटसमा उल्लेख गरेका छन्।
राईले बजेट आर्थिक उत्पादन, प्रतिस्पर्धात्मकता र जनहितभन्दा बढी भूराजनीतिक सोचबाट प्रभावित देखिएको आरोप लगाएका छन्। उनका अनुसार यस्तो नीतिले नेपाल–भारत व्यापार घाटा झनै बढाउन सक्ने जोखिम रहेको छ, जसको भार अन्ततः सर्वसाधारण नागरिकले नै वहन गर्नुपर्नेछ।
उनले बजेटका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनविश्वासमा असर पर्न सक्ने दाबी गरेका छन्। साथै रास्वपाका नेता स्वर्णिम वाग्ले को भूमिकाप्रति पनि प्रश्न उठाउँदै उनी “स्खलित भएको” टिप्पणी गरेका छन्।