अपराध
काठमाडौं, जेठ २३

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार सोही स्थानका ४२ वर्षीय कुमार थापाले शुक्रबार राति करिब १०:१० बजे आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सामाजिक संजालमा  “नेपाली ब्रो” नामले चिनिने कुमार थापाले घरायसी विवादका क्रममा श्रीमतीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजु मा राखेको छ। घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।