रुकुम पूर्व, असार जेठ ३१

नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र अन्तर्गत पर्ने रुकुम पूर्वको भुमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले पार्टी नेतृत्व र संगठन सञ्चालन शैलीमाथि कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले माओवादी केन्द्र हुँदै हाल नेकपा बनेको पार्टीको राजनीतिक कद क्रमशः खस्कँदै जानुको कारण आफूले अहिले मात्र स्पष्ट रूपमा बुझ्न थालेको बताएका छन्।
श्रेष्ठले पार्टीका शीर्ष नेता प्रचण्ड पार्टीभित्रका “दलाल, खुराफाती र फटाहा” व्यक्तिहरूबाट घेरिएकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। उनले नेतृत्वले पार्टीको वास्तविक अवस्था बुझ्न नसकेको वा बुझ्न नचाहेको तथा आम नागरिकका भावना र आवश्यकतालाई देख्न नसकेको वा हेर्न नचाहेको टिप्पणी गरेका छन्।
उनले निरन्तर गल्ती दोहोर्‍याउने र समयको चेतावनीबाट समेत पाठ नसिक्ने नेतृत्वबाट सकारात्मक तथा अग्रगामी दिशा प्राप्त हुने विश्वास आफूमा नरहेको उल्लेख गरेका छन्।
श्रेष्ठले पार्टीभित्र अहिले दुईवटा स्पष्ट राजनीतिक धार देखिएको दाबी गरेका छन्। एउटा धारले “खुराफातलाई क्रान्तिकारिताको खोल ओढाएर भ्रम सिर्जना गर्ने” काम गरिरहेको र अर्को धारले “पार्टी तथा बहुसंख्यक जनताको हितमा काम गर्ने” प्रयास गरिरहेको उनको भनाइ छ।
उनले अन्त्यमा पार्टीभित्र यी दुई धारबीच निर्मम संघर्ष हुने संकेत गर्दै “छनोट आ–आफ्नै” भन्ने अभिव्यक्ति दिएका छन्।